काठमाडौं । नेप्से परिसूचक लगातार ६ कारोबार घटेर २ हजार विन्दुमुनि झरेको छ । ६ कारोबार दिनमा परिसूचक ९७.४६ अंक घटेको छ । आइतवार पनि नेप्से परिसूचक १ दशमलव ३३ प्रतिशत घटेर १ हजार ९७९ दशमलव ०२ विन्दुमुनि झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ७३ प्रतिशत घटेको छ ।
यस दिन ३१७ धितोपत्रको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटकमा रू. ३ अर्बभन्दा बढीको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १४ हजार ७५६ दशमलव ७० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा चिरख्वा हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशत बढेर रू. ६२२ पुगेको छ ।
आइतवार दुई कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेसँग नेगेटिभ सर्किट लागेको हो । यससँगै समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९५८ दशमलव ७० र मोलुङ हाइड्रोपावरको शेयर मूल्य रू. ५६२ दशमलव ५० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्री सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको रू. २५ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९९ दशमलव ८० पुगेको छ ।
यस कम्पनीले २३ दशमलव ८० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा जोशी हाइड्रोपावर छ । कम्पनीको रू. ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । वित्त समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ४२ प्रतिशत घटेको छ ।