काठमाडौं । विज्ञापन बोर्डले काठमाडौंको अनामनगरस्थित कोकिल मिडियालाई १० हजार रुपैयाँ जरिवाना र २०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।
नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रसारण गर्न काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग उक्त एजेन्सीले २०८० असोज १२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले कारबाही गरिएको बोर्डले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
‘उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रतिस्पट १०६ रुपैयाँ ६१ पैसामा सम्झौता गरी एफएम रेडियोलाई प्रतिस्पट ११ रुपैयाँ ११ पैसामा प्रसारण आदेश दिई प्रतिस्पट ९८ रुपैयाँ ५० पैसा अर्थात् ९८६ दशमलव ५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो,’ बोर्डको विज्ञप्तिमा भनिएको छ ।
उक्त कम्पनीले ५२ ओटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नुपर्नेमा २० ओटालाई मात्र प्रसारण आदेश दिएको पनि बोर्डले जनाएको छ । माघ १९ गते बसेको बोर्डको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ख को उपनियम (१) बमोजिम २०८१ असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ ।
कोकिल मिडिया विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ बमोजिम बोर्डमा सूचीकरण नभएको, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकुबाट ५२ ओटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्नुपर्ने कार्यादेश पाएकोमा २० ओटामा मात्र प्रसारणको आदेश पठाई ३२ ओटा रेडियोमा प्रसारण आदेश नै नदिएको र प्रसारणको आदेश दिएका एफएममा समेत अत्यधिक ९८६ दशमलव ५८ प्रतिशत सेवा शुल्क राखी कालोबजारी गरेको छानबिनका क्रममा पाइएपछि उपरोक्त कारबाही गरिएको बोर्डले प्रस्ट पारेको छ ।
साथै बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम नियम ४ क र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा १९ को (क) र (ख) बमोजिम बोर्डमा सूचीकृत नै नभएको विज्ञापन एजेन्सी कोकिल मिडिया तथा बोर्डमा सूचीकृत नभएका ८ ओटा एफएम रेडियोमा विज्ञापन प्रसारण गर्ने कार्यादेश दिएको पाइएकोले अब आइन्दा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी र सञ्चार माध्यमसँग मात्र विज्ञापन कारोबार गर्न गराउन विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट बमोजिम राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौलाई निर्देशन दिने निर्णय गरेको छ ।
विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ (पहिलो संशोधन समेत) को नियम ६क को उपनियम २ र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ को दफा २६ मा रहेको सरकारी निकायले विज्ञापन एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपि सहित त्यस्तो एजेन्सीको सेवा शुल्क खुल्ने गरी सो एजेन्सीले जारी गरेको बिलबमोजिम भुक्तानी गर्नुपर्ने व्यवस्था विपरीत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोकिल मिडियासँग सम्झौता गरेको पाइएकोले विज्ञापन बापतको रकम भुक्तानी गर्दा सञ्चारमाध्यमको बिजकको प्रतिलिपि सहित एजेन्सीको कमिशन खुल्ने बिजकको आधारमा मात्र भुक्तानी गर्ने गराउने व्यवस्था मिलाउन केन्द्रलाई निर्देशन दिने निर्णय समेत बोर्डले गरेको छ ।
बोर्ड बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र कोकिल मिडियाबीच भएको सम्झौताको बुँदा नं ४ बमोजिम उक्त एजेन्सीले रेडियो सन्देश प्रसारणको कार्य सम्पन्न नगरेकोले सम्झौताको बुँदा नं ७ बमोजिम उसलाई नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
कोकिलले २०८० असोज १६ गते २० ओटा एफएम रेडियोलाई ९ दिनमा दिनको १० स्पटका दरले ९० स्पट विज्ञापन प्रसारणका लागि आदेश पठाएको र उक्त आदेशमा सो विज्ञापन प्रसारण गरेबापत एक हजार रुपैयाँ भुक्तानी गर्ने उल्लेख भएपछि एफएम रेडियोहरूले बोर्डमा उजुरी गरेका थिए । उजुरीपछि बोर्डले बोर्डले तीन सदस्यीय समिति गठन गरी छानबिन गरेको थियो । छानबिनको क्रममा अत्यधिक सेवा शुल्क लिने, तोकिएका सबै सञ्चार माध्यममा विज्ञापन प्रसारण नगर्ने तथा नियमानुसार सूचीकृत भएका विज्ञापन एजेन्सी र सञ्चारमाध्यमसँग मात्र विज्ञापन कारोबार गर्नुपर्नेमा त्यसो गरेको नपाइएपर्छि कारबाहीको निर्णय गरिएको बोर्डको भनाइ छ ।
बोर्डबाट २०८१ असार मसान्तसम्म कोकिल मिडियासँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न पनि विज्ञापनदाता र सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।