काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १८ करोड ६८ लाख खुद नाफा कमाएकोमा चालू आवमा उक्त नाफा बढेर रू. ३३ करोड १५ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३ अर्ब ५० करोड रहेकोमा चालू आवमा बढेर रू. ४ अर्ब १२ करोड पुगेको छ ।
त्यस्तै कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू. ३ अर्ब २९ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा १० दशमलव २४ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले कुल रू. २ अर्ब ९८ करोड बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आवमा कम्पनीले रू. ३ अर्ब ११ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू. २ अर्ब ८९ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ दशमलव ७९ प्रतिशतले बढी हो ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा रहेकोमा चालू आवमा बढेर ११ रुपैयाँ ५ पैसा पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. ८५ करोड ९२ लाख, महाविपत्ति कोषमा रू. १५ करोड ९१ लाख र शेयर प्रिमियममा रू. १ अर्ब ५२ करोडभन्दा बढी सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ४९ दशमलव ८० गुणा र प्रतिशेयर नेटवर्थ रू. १७७ दशमलव २५ छ ।