काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले २५ लाख ७२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्म कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी घटेसँगै यस वर्ष खुद नाफा कम भएको हो । गत वर्ष १५ करोड ४५ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १४ करोड ४ लाख रुपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको हो ।
वित्तीय खर्च गत वर्ष ८ करोड रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ८ करोड ६१ लाख रुपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २४ करोड ४५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ८ करोड ७० लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ छ ।