हामीले सन् २००१ मा ठमेल डटकम शुरू गरेका थियौं । नेपालमा आफूलाई सुहाउने र केही नयाँ काम गर्ने उद्देश्यले यो काम शुरू गरेका हौं । हामीले आमाको मुख हेर्ने दिन अमेरिकामा रहेका छोराछोरीले नेपालमा आमालाई उपहार पठाउन सकून् भनेर यसको शुरुआत गरेका थियौं । त्यो बेला नेपालमा अनलाइन पेमेन्ट गेटवे थिएन । त्यसैले अमेरिकामै कम्पनी खोलेर त्यहाँ पेमेन्ट गेटवे लिएर अमेरिकामा पेमेन्ट भएपछि नेपालमा मिठाइ, फलफूल, उपहार डेलिभरी गरेको फोटो लिएर ग्राहकलाई पठाउँथ्यौं । त्यसैबाट हामीले पछि दशैंमा खसी पनि बेच्यौं । अमेरिका बसेका व्यक्तिले नेपालमा रहेका परिवारलाई खसी उपहार दिन हाम्रो सेवा व्यापक भयो । ३० ओटा देशमा बसेका नेपालीले यो सेवा लिए ।
तर, ई–कमर्स व्यवसाय गर्न गार्हो छ । यसका लागि ठूलो पूँजी लगानी आवश्यक पर्छ । ई–कमर्समा सञ्चालन खर्च र मार्जिन कम छ । अकोतर्फ नेपालमा ई–कमर्स सञ्चालन थप चुनौतीपूर्ण छ । यसमा एक तहको इन्नोभेसन आवश्यक छ । यसमा क्यापिटल इन्भेस्टमेन्ट एकदमै धेरै छ । यसमा हाम्रो संस्कृति पनि जोडिएको छ । अर्को देशमा सफल भएको कुरा यहाँ नहुन पनि सक्छ । किनकि हाम्रो सप्लाई चेन पनि अलि फरक छ । मलाई केही चाहियो भने ढोका ढोकामै उपलब्ध छ । बिगमार्ट, भाटभटेनी जस्ता सपिङ मल जहाँ पनि छन् ।
घरबाहिर तेल, चाउचाउ उपलब्ध हुने भएपछि डिजिटल माध्यमबाट यी सामान खरीद गर्ने मान्छे पाउन गार्हो हुन्छ । अमेरिकाको संस्कृति भने फरक छ । त्यहाँ सपिङ गर्ने समय छैन र जहाँ पनि स्टोर्स छैन । यसलाई सपोर्ट गर्ने इकोनोमिक स्केल पनि आवश्यक हुन्छ । त्यसैले हामी रेमिट्यान्सको क्षेत्रमा प्रवेश गरेका हौं । ई–कमर्समा गिफ्ट वितरण सेवाबाहेक अरु काम गरेनौं । त्यो पनि सिजनल बिजनेश मात्र भयो । त्यसपछि रेमिट्यान्सको व्यापारमा हात हाल्यौं । यो ई–कमर्सभन्दा राम्रो रह्यो ।
रेमिट्यान्स व्यापारमा अवसर
अहिलेको व्यवसायलाई हामीले विश्लेषण गर्दा व्यक्तिगत रूपमा रेमिट्यान्स पठाउने काम मात्र बढी भएको छ । हाल जति पनि मनी ट्रान्सफर बिजनेश छ, नेपालका डिजिटल वालेटहरूलाई अमेरिका जस्तो देशका ग्राहकलाई अनबोर्ड ल्याउने प्लेटफर्म छैन । हामीले नियो बैंकमार्फत त्यही गर्न खोजिरहेका छौं । अहिले उनीहरूको मनी ट्रान्सफर पार्टनर बाहिर हुन्छन् । उनीहरूले पठाउँछन् र यहाँ बाँड्ने मात्र हो । हामीले पैसा संकलन र बाँड्ने दुवै गर्न सक्ने गरी काम गरिरहेका छौं । उता पैसा उठाउन लाइसेन्स चाहिन्छ । वेस्टर्न युनियनको लाइसेन्स र संसारभरि नेटवर्क छ । कोरोनाअघि व्यक्तिले व्यक्तिलाई रेमिट्यान्स पठाउने हुन्थ्यो भने कोरोनापछि व्यक्तिले मर्चेन्टलाई र डिजिटल फ्रिल्यान्सलाई पठाउने काम पनि भएको छ । यो व्यापारमा ठूलो सम्भावना छ, जसमा हामी लागिरहेका छौं । नियो बैंकमार्फत हामी यसमा सघाउन खोजेका हौं । अहिले मेरो काम पैसा दिने मात्र होइन ग्राहक आफैले पैसा लक गर्न मिल्ने, चाहेको बेला डलरको भाउको आधारमा मुद्रा परिवर्तन गर्न मिल्ने जस्ता सुविधा दिँदै छौं । त्यसबाट अमेरिकामा पैसाका लागि अनुरोध गर्न पाउनुहुन्छ । हामी यहाँ नेपाल राष्ट्र बैंकसँग लाइसेन्स लिएका वालेट कम्पनीसँग मिलेर त्यो काम गरिरहेका छौं । अब बैंकहरूसँग पनि गर्दै छौं । यो व्यवसाय कसिलो नियमन भएको क्षेत्र हो । राम्रो ग्राहक पहिचान विवरण (केवाईसी) नभएसम्म यो काम गर्न पाउँदैन । यो व्यवसायमा ठूलो अवसर पनि छ ।
नयाँ इन्नोभेसनको सम्भावना
अहिले राइड शेयरिङमा केही कम्पनीहरू सञ्चालनमा छन् । उनीहरूसँग राइड शेयरिङ सेवा लिनेहरूको डाटा हुन्छ । यस्तो डाटाबाट फिनटेक सेवा उपलब्ध गराउन सकिन्छ । भविष्यमा यस्तो तथ्यांक नै धितो मानेर ऋण प्रदान गर्न सकिने सम्भावना हुन्छ । यस्तो प्रविधि विकास गरी राइड शेयर कम्पनीहरूले फिनटेक सेवा पनि दिन सक्छन् । अहिले पठाओ जस्तो कम्पनी राइड शेयरिङमा मात्र सीमित भएको पैसा नभएर हो । ऋण दिँदा तपाईंको क्यारेक्टर हेर्ने हो । भोलि राइड शेयरिङको तथ्यांक विश्लेषण गरेर ऋण दिन सकिन्छ । तर, यस्तो तथ्यांकको प्रयागबारेमा भने कानून पनि आवश्यक छ । कुनै परिवर्तन आवश्यकताको आधारमा हुने हो ।
संस्थापक, ठमेल डटकम