चितवन। अर्थतन्त्रमा आएको शिथिलताका कारण निजीक्षेत्र समस्यामा परेकोे उद्योगी व्यवसायीले बताएका छन् । निर्माण व्यवसायी संघ चितवनको ३०औं साधारणसभा तथा १६औं अधिवेशनमा बोल्ने वक्ताहरूले निजीक्षेत्रको समस्या समाधान गर्न राज्यले पहल गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय धराशयी बन्दा निजीक्षेत्रसमेत समस्याग्रस्त बनेको बताए । सरकारले निजीक्षेत्रलाई चलायमान बनाउन सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्नुपर्ने उनको भनाइ थियो । कोरोनापछि प्रभावित बनेको व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राख्दा उद्योग धराशयी बन्न पुगेको उनको
भनाइ थियो ।
देशभर रहेका निर्माण व्यवसायमा २५ लाखले रोजगारी पाइरहेको भन्दै उनले यस्ता व्यवसायीलाई सरकारले थप प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । सरकारले आगामी बजेटमा पुराना योजनालाई निरन्तरता दिने गरी सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीलाई राज्यले दिनुपर्ने भुक्तानी समयमा हुन नसक्दा बजारमा आर्थिक तरलता छाएको बताए । महासंघका सल्लाहकार निकोलस पाण्डेले विकास निर्माणका काममा देखिएका समस्या समाधान गर्दै अघि बढ्न सके मात्र काम गर्ने वातावरण बन्ने बताए ।