काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महीनामा आयात निर्यात दुवैमा सुधार आएको अर्थ मन्त्रालयले जानकरी दिएको छ । मन्त्रालयका अनुसार यस वर्षको पुस मसान्तसम्ममा आयात ७ दशमलव १ र निर्यात ३१ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको यसै अवधिमा आयात ३ दशमलव १ प्रतिशतले र निर्यात ७ दशमलव २ प्रतिशतले घटेको थियो । चालू वर्षको पहिलो ६ महीनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ ।
गतवर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयात–निर्यातदेखि अन्य सूचकमा आएको सुधारले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको बताएका छन् । अर्थ मन्त्रालयमा आइतवार भएको पत्रकार सम्मेलनमा पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको भनेर सूचकहरूले नै देखाएको बताए । ‘हामीले आर्थिक सूचकहरूमा तलमाथि गरेका छैनौं । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ,’ उनले भने । वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरू सुध्रँदै गएको उनले दाबी गरे ।
- तथ्यले अर्थतन्त्र सुधारउन्मुख रहेको देखाउने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको दाबी
- राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा ठूलो सुधार देखाएको छैन
‘आर्थिक परिसूचक अहिलेको भन्दा नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोर्याएका छौं,’ उनले भने । सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेलगत्तै निजीक्षेत्रका छाता संगठनले त्यसको स्वागत गरेको र यसले निजीक्षेत्रको मनोबल बढाउन भूमिका खेलेको मन्त्री पौडेलको भनाइ छ । यद्यपि, चालू आवमा पनि आर्थिक वृद्धिदर त्यति राम्रो हुन सकेको छैन । चालू आवको पहिलो त्रैमासमा समग्र अर्थतन्त्र ३ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । कृषि, पर्यटन र विद्युत् उत्पादनमा भएको वृद्धिलगायतले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाइ छ । व्यापारजन्य वस्तुमा आएको सामान्य वृद्धिले व्यापार क्षेत्रको वृद्धिदर शून्य दशमलव ५ प्रतिशतले रहने कार्यालयको अनुमान छ । तर, सरकारले पूँजीगत खर्च गर्न नसक्दा निर्माण क्षेत्र शून्य दशमलव ३ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । निर्माण व्यवसायीले सम्पन्न गरेको कामको भुक्तानी सरकारले नगर्दा निर्माण क्षेत्र अघि बढ्न नसकेको गुनासो छ । निर्माण व्यवसायीले सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको र सिमेन्ट तथा छडको मूल्य अस्वाभाविक रूपमा बढाएको दाबी गर्दै आन्दोलनको तयारी पनि गरिरहेका छन् ।
तर, अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानीसम्बन्धी समस्या अन्त्य भइसकेको दाबी गरे । मन्त्री पौडेलले आम र आधारभूतरूपमा भुक्तानीको काम सकिएको बताउँदै थपे, ‘गत आवको दायित्व यसै वर्ष तिरिदिएका छौं, जुन यस वर्षको पनि होइन । समस्या समाधान गरिदिएका छौं । हामी आउँदा तिर्न बाँकी थियो । अहिले बाँकी छैन ।’ अर्थमन्त्री पौडेलले अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । कतिपय मानिसको बैंक र अर्थतन्त्रका बारेमा नकारात्मक टिप्पणी गर्ने बानी रहेको भन्दै उनले थपे, ‘हामी छौं, अर्थतन्त्र डुब्न दिँदैनौं । बैंक पनि डुब्न दिँदैनौ ।’ अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको दाबी गर्दै उनले नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गरे ।