काठमाडौं । चालू आर्थिक वर्षको चैतमा थोरै सुधार देखिएको वैदेशिक व्यापार वैशाखमा पुन: खुम्चिएको छ । भन्सार विभागले सोमवार प्रकाशित गरेको तथ्यांकमा चालू आर्थिक वर्ष २०८०/८१ को वैशाखमा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चालू आर्थिक वर्षमा असोजपछि चैतमा बढी आयात भएको थियो । तर, वैशाखमा पुन: घटेको छ ।
विदेशी मुद्रा सञ्चितिमा सुधारसँगै सरकारले आयात प्रतिबन्ध हटाउनुका साथै राष्ट्र बैंकले पनि मौद्रिक नीतिलाई लचिलो बनाउँदै लगेको छ । यसैगरी बैंकिङ प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंकको ब्याजदर पनि घट्दै गएको छ । तर, बजारमा माग घट्दा वैदेशिक व्यापारमा सुधार हुन सकेको छैन ।
राष्ट्रिय तथ्यांक कार्यालयले बजारमा माग नै नभएका कारण औद्योगिक तथा व्यापारिक कारोबार घटेको जनाएको छ । कार्यालयले उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्रको वृद्धिदर चालू आर्थिक वर्षमा नकारात्मक रहने र व्यापार क्षेत्रमा पनि सामान्य वृद्धि हुने अनुमान गरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात निर्यात दुवै घटेको छ । चालू आर्थिक वर्षको पहिलो १० महीनामा नेपालले १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँको सामान निर्यात गरेको छ भने १३ खर्ब ३ अर्ब ३५ करोडको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको निर्यात गर्दा १३ खर्ब ३५ अर्ब ३२ करोडको आयात भएको थियो । आयात २ दशमलव ३९ प्रतिशतले घट्दा निर्यात ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।
आयात घटेपछि व्यापार घाटामा भने राहत भएको छ । चालू वर्षको वैशाखसम्ममा मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ बराबर पुगेको छ । गतवर्ष सोही अवधिको व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड बराबर थियो । पोहोरको तुलनामा यस वर्षको व्यापार घाटा २ दशमलव २६ प्रतिशतले कम हो ।
चालू आर्थिक वर्षमा विद्युतीय सवारीसाधानको आयात क्रमश: बढिरहेको भन्सार विभागले जनाएको छ । निर्यातमा उच्च हिस्सा ओगट्दै आएका पाम, भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थको आयातमा भने कमी आएको छ । सो अवधिमा सबैभन्दा बढी गलैंचा निर्यात भएको छ । यसैगरी फलाम तथा आइरन, पाम तेल बढी निर्यात हुने वस्तुको सूचीमा छन् ।