काठमाडौं । पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा अडलट कारोबार बढ्दो गतिमा देखिएको छ । सय रुपैयाँ अंकित मूल्यको १० कित्ताभन्दा कम धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सार्वजनिक गरेको पछिल्लो ६ महीनाको तथ्यांक हेर्दा चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको धितोपत्र अडलटमा कारोबार भएको छ । नेप्सेका अनुसार दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँभन्दा बढीको १ करोड ४१ लाख कित्ता धितोपत्र अडलटमा कारोबार भएकोमा तेस्रो त्रैमासमा ५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको २ करोडभन्दा बढी कित्ता कारोबार भएको हो । पछिल्लो ६ महीनाको कारोबार हेर्दा चैतमा सर्वाधिक अडलट कारोबार भएको छ । यो महीना २ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको १ करोड ५२ लाखभन्दा बढी कित्ता अडलट कारोबार भएको हो ।
२०७९ वैशाखदेखि हरेक दिन अडलट कारोबार गर्न सकिने व्यवस्था नेप्सेले गरेको हो । आम लगानीकर्ताले शेयरबजारमा कारोबार गर्न सकून् भनेर यो सुविधा उपलब्ध गराइएको नेप्सेले बताएको छ ।
त्यसअघि धितोपत्र कारोबारमा अडलटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्र कारोबार हुन्थ्यो । यो कारोबार धितोपत्र बजारको वास्तविक कारोबार भने नभएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली बताउँछन् । नियमित कारोबारमा अडलट कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन गरिएको र यो कारोबार नेप्सेको इन्डेक्ससँग नजोडिने भनाइ पराजुलीको छ । वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि अडलट कारोबारको मार्केट डेप्थ नदेखाइएको पराजुली बताउँछन् ।
अडलट कारोबार नियमित गरिए पनि यो कारोबार सहज भने नभएको सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीको गुनासो छ । अडटल कारोबारको खरीद र विक्री माग रेकर्ड मार्केट डेप्थमा नदेखिने भएकाले पनि पारदर्शी रूपमा कारोबारमा सहभागी हुन नपाउने समस्या रहेको गिरी बताउँछन् । नेप्सेले अडलट कारोबारलाई अझ प्रभावकारी बनाउन नियमित कारोबारमै अडलटका धितोपत्र कारोबार पनि खुला गराउनुपर्ने वा मार्केट डेप्थमा अडलटको सम्पूर्ण विवरण देखिने बनाउनुपर्ने सुझाव गिरीको रहेको छ ।
अडलट कारोबारमा कठिनाइ भएकाले आफूले थप शेयर खरीद गरेर अडलटको शेयर विक्री गर्ने गरेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । कुनै कम्पनीको ५ कित्ता शेयर बाँकी रह्यो भने १० कित्ता थप गरेर १५ कित्ता बनाएर मात्र विक्री गर्ने गरेको उनले बताए । अडलट कारोबार सहज नहुँदा शेयर विक्री गर्न थप शेयर खरीद गर्नुपर्ने समस्या आफूले लामो समयदेखि भोग्दै आएको गुनासो रौनियारको छ ।
एकै परिवारका धेरै जनाको नाममा रहेको अडलट धितोपत्र कारोबारका लागि मार्केट डेप्थले नदेखाए पनि खरीद र विक्री अर्डर मिलाएर कारोबार गरिरहेको रौनियारले बताए । धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको एकाइ अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भए १० कित्ता कारोबार एकाइ हुने व्यवस्था छ ।
त्यस्तै ऋणपत्रको हकमा अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भए १ कित्ता कारोबार एकाइ हुने व्यवस्था पनि उक्त विनियमावलीमा छ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसाबमा धितोपत्रको अडलट कारोबार एकाइ तय गरिएको देखिन्छ । यहाँ उल्लेख गरिएको कारोबार एकाइ वा त्योभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न नपाउने व्यवस्था छ ।