काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले महिला अझै पनि च्यालेन्जिङ बिजनेशमा पुग्न नसकेको बताएकी छन् । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
दुई चरणमा गरिएको उक्त कार्यक्रममा दोस्रो सत्रको प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी उनले गाउँका सामान्य नागरिकका रूपमा मात्रै रहेका महिला गरिबीविरुद्ध, बेरोजगारीविरूद्ध र आर्थिक सशक्तीकरणतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले कुनै एक महिलालाई नभई सबै महिलालाई अगाडि बढाउनुपर्ने बताइन् । कुनै समय आफ्नै पहिचान खोजिरहेका महिलाले अहिले पहिचान पाएको उनको भनाइ छ । 'महिला कहाँ छन्, के गर्न सक्छन् भन्ने अवस्थाबाट के गर्न सक्दैनन् भन्ने अवस्थामा आएको छ,' उनले भनिन् ।
अहिले महिला सशक्तीकरण हुँदै गएको र उद्यमी बनेर आर्थिक क्षेत्रको नेतृत्व गर्ने प्रयासमा रहेको उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वदेखि प्रधानन्यायाधीश, सभामुख र राष्ट्रपतिसम्म महिला भएको र अझै हेर्न बाँकी रहेको उनले बताइन् ।
आर्थिकरूपमा सक्षम भए मात्र समता, विकास गर्दै नेतृत्व र निर्णयमा समेत सहभागी हुन सकिने उनले बताइन् । '५३ सालमा महिलालाई सम्पत्ति अधिकारको लागि वकिल भएर लडेकी म अहिले आफै निर्णय गर्ने स्थानमा पुगेकी छु,' उनले भनिन् ।त्यतिबेला जम्मा ५ प्रतिशत मात्रै महिलाको नाममा सम्पत्ति रहेकोमा हाल ३७ प्रतिशत पुगेको उनले बताइन् । 'जबसम्म समान आँखाबाट हेर्दैनौं, अधिकार मात्र भएर पुग्ने रहेनछ,' उनले भनिन्, 'सोच नै बदल्नुपर्ने रहेछ ।'
प्रधानले कार्यक्रममा उद्योग व्यवसाय र व्यवसायिक क्षेत्रका इमर्जिङ महिला सम्मानित भएकोमा खुसी व्यक्त गरिन् । नेपालका दूरदराजमा रहेर कुखुरा पाल्ने, ढाक बुन्नेजस्ता काम गरिरहेका महिलालाई सम्मान गरिएकोमा उनले आयोजक न्यू बिजनेश एज प्रालिलाई धन्यवादसमेत व्यक्त गरिन् ।