विराटनगर। नेपाल पत्रकार महासंघ, मोरङले अजोड इन्स्योरेन्स कम्पनीविरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । कोरोना बीमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत, विराटनगरले उक्त कम्पनीका नाममा २०७९ जेठ १६ मा परमादेश जारी गरे पनि अदालतको आदेशको अवज्ञा गरेको भन्दै पत्रकार महासंघ, मोरङले अदालतको अवहेलनामा सजायको माग गर्दै सोमवार मुद्दा दर्ता गरेको हो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (२) ले उच्च अदालतले आफ्नो र मातहतको अदालत वा न्यायिक निकायको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने कानूनी व्यवस्था गरेको छ । २०७९ जेठ १६ मा परमादेशको आदेश जारी भइसकेको अवस्थामा विपक्षीहरूले सो आदेशको अवज्ञा गरी सम्मानित अदालतको गरिमामा ठेस पुर्याउने र अदालतको काम कारबाहीप्रति जनतामा अविश्वास फैलाउने कार्य गरेको भन्दै अवहेलनामा मुद्दा दर्ता गरिएको नेपाल पत्रकार महासंघ, मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।
परमादेशको आदेशको अवज्ञा गरी विपक्षीहरूले जनताको आस्थाको धरोहरको रूपमा रहेको स्वतन्त्र न्यायपालिकाको गरिमामा आँच पुर्याउने, अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरी अदालतको आदेशलाई कागजी न्यायमा सीमित गराउने प्रयास गरिएकाले विपक्षीहरूलाई झिकाई न्याय प्रशासन ऐनबमोजिम हदैसम्मको जरीवाना तथा कैद सजाय गरी पाउन माग गरिएको सचिव अधिकारीले बताए । न्याय प्रशासन ऐन २०७३ दफा १७ (४) बमोजिम १ वर्षसम्म कैद र १० हजार जरीवाना वा दुवै हुने व्यवस्था रहेको उच्च अदालत, विराटनगरका उपरजिस्ट्रार टिकेन्द्र जंगवीर राणाले बताए ।
अदालतको अवहेलनामा मुद्दा दर्ता गर्नुअघि उच्च अदालत विराटनगरले गत वैशाख २४ गते निवेदकको माग बमोजिम निर्णय कार्यान्वयनका लागि पत्र पठाए पनि सोको समेत अवज्ञा गरेपछि अवहेलनामा मुद्दा दर्ता गरिएको पत्रकार महासंघ मोरङका सचिव अधिकारीले जानकारी दिए ।
२०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलाशले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीको नाममा परामादेश दिएको थियो ।