वासिङ्टन डिसी (अमेरिका) । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जितनजिक पुगेका छन् ।
अमेरिकी समाचार पोर्टल ‘दन्यूयोर्कटाइम्सडटकम’का अनुसार (नेपाली समयअनुसार आज दिउँसो १ः५५बजे) उनले २६७ इलेक्टोरल भोट पाएका छन् । अर्का प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल भोट पाएकी छन् । ह्यारिसले पाएको इलेक्टोरल भोट ट्रम्पको भन्दा ४३ ले कम हो ।
लोकप्रिय मतमा पनि ह्यारिसभन्दा ट्रम्प नै अगाडि छन् । समाचार संस्था बीबीसी हिन्दीका अनुसार ट्रम्पले अहिलेसम्म खसेको कुल मतको ५१.१ प्रतिशत (६ करोड ८९ लाख २३ हजार ७१६) मत पाएका छन् भने ह्यारिसले कुल मतको ४७.२ प्रतिशत (६ करोड ३६ लाख ५५ हजार २७९) मत पाएकी छन् ।
राष्ट्रपतिमा निर्वाचित हुन देशको कुल ५३८ इलेक्टोरल भोटमध्ये २७० इलेक्टोरल भोट आवश्यक हुन्छ । यसआधारमा ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित हुन केवल ३ इलेक्टोरल भोट मात्रै आवश्यक छ । ह्यारिसलाई भने चुनाव जित्नका लागि ५६ इलेक्टोरल भोट आवश्यक पर्छ ।
राष्ट्रपति निर्वाचनअन्तर्गत मंगलवार मतदान सम्पन्न भएको थियो ।
देशको ४७ औं राष्ट्रपतिमा आफ्नो जितनजिक भएपछि ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै अविश्वसनीय राजनीतिक चिज प्राप्त गरेको बताएका छन् ।