गत बिहीवारको तुलनामा आइतवार अन्तरबैङ्क ब्याजदर केही बढेको छ । गत बिहीवार औसतमा ४ देखि साढे ४ प्रतिशतको हाराहारीमा रहेको भारित औसत अन्तरबैङ्क ब्याजदर आइतवार ५ दशमलव ५ प्रतिशत पुगेको हो ।
आइतवार वाणिज्य बैङ्कहरूबीच न्यूनतम ५ प्रतिशत र उच्चतम ६ प्रतिशत ब्याजदरमा करीब साढे २ अर्ब अन्तरबैङ्क कारोबार भएको छ । आइतवार थोरै रकमको कारोबार भए पनि ब्याजदर भने बढेको छ । सो दिन बैङ्क अफ एशिया र हिमालयन बैङ्कले धेरै रकम सापटी लिएकाले ब्याजदर बढेको स्रोतले बताएको छ । पछिल्लो समयमा यी बैङ्कले ट्रेजरी बिलमा लगानी गरेकाले उनीहरूलाई धेरै रकम आवश्यक परेको हो ।
विगत केही समययता वाणिज्य बैङ्कहरू ट्रेजरी बिलमा लगानी गर्न आकर्षित देखिएका छन् । बैङ्किङ प्रणालीमा तरलता बढ्न थालेको तर सो अनुपातमा लगानीका क्षेत्र विस्तार हुन नसकेकोले ट्रेजरी बिलमा उनीहरूको आकर्षण बढेको हो । सो दिन वाणिज्य बैङ्क र विकास तथा फाइनान्स कम्पनीबीचमा न्यूनतम ५ प्रतिशत र उच्चतम १५ प्रतिशत ब्याजदरमा रू. ५० देखि ६० करोडसम्म कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनीले सरकारलाई तिर्नुपर्ने लाभांश बैङ्कहरूबाट झिकेर राष्ट्र बैङ्कमा जम्मा गर्न शुरू गरेकाले पनि बैङ्कहरूमा निक्षेप घटेको र त्यसले अन्तरबैङ्क ब्याजदर बढेको स्रोतले बताएको छ ।
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९