आर्थिक वर्षको अन्त्य हुन ७ दिनअघिदेखि सरकारी कार्यालयले भुक्तानी रोक्ने व्यवस्था भएअनुसार आइतवार रातिबाट सरकारी खर्च रोकिएको छ । चालू आवको पूँजीगत खर्च ५० दशमलव ९८ प्रतिशत भएको छ तर सरकारले निर्माण सम्पन्न आयोजनाको दायित्व भुक्तान गरेको छैन । यसले अर्थतन्त्रको संकटलाई झनै गम्भीर बनाउने देखिन्छ ।
राष्ट्रिय निर्माण व्यवसायी महासंघका अनुसार सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसमा म्याद थपिएका आयोजनाको दायित्व ४० अर्ब र बजेट अपुग तथा निकासा नभएको २० अर्ब गरी ६० अर्ब दायित्व भुक्तान नभएको महासंघको भनाइ छ । सरकारले अन्य खर्च कटौती गरेर पनि यस्तो अनिवार्य दायित्व भुक्तान गर्नुपर्छ । तर, नकचराको औषधि छैन भनेजस्तै सरकारी बेइमानीलाई कुनै कानून लाग्दैन । तर, यसले अर्थतन्त्रमा गम्भीर असर पार्छ । निर्माण व्यवसायीले निर्माण सम्पन्न आयोजनाको भुक्तानी नपाएपछि नयाँ आयोजनामा काम गर्न सक्दैनन् । उनीहरूले कामदारको ज्याला तिर्नुपर्ने हुन्छ, निर्माण सामग्रीको उधारो भुक्तान गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीले भुक्तानी नपाउँदा बैंकहरूको कर्जा उठाउन समस्या भएको बैंकरहरूले बताएका छन् । बैंकहरूको खराब कर्जा बढ्दा बैंकिङ क्षेत्र पनि समस्यामा पर्न सक्छ जसको असर अर्थतन्त्रका अन्य चरणहरूमा पर्छ । अर्थ मन्त्रालयका दिग्गजहरूले अर्थतन्त्रको यो चक्र नबुझेका होलान् भनेर सोच्न सकिन्न । संकटपूर्ण अर्थतन्त्रलाई गति दिन बजारमा पैसा प्रवाह गर्नुपर्छ भन्ने ज्ञान पनि अर्थका अधिकारीलाई नहुने कुरा होइन । तर, प्रक्रिया नमिलेको, समयमा माग नआएको, अन्य मन्त्रालयको कमजोरी रहेको जस्ता बहाना गरेर निर्माण व्यवसायीको भुक्तानी रोकेर उसले गर्न खोजेको के हो भन्ने प्रश्न उठेको छ । कर्मचारीले बुझ्ने तलबभत्तामा कुनै विलम्ब नहुने तर आफूले तिर्नुपर्ने दायित्वबाट सरकार भाग्ने हो भने सरकारप्रति अविश्वास बढ्नेछ ।
नेपालको अर्थतन्त्रमा दशकौंदेखि उही प्रकृति र उही समस्या रहिरहेका देखिन्छन् । तर, ती समस्याको समाधानमा सरोकारवालाले प्रभावकारी काम गरेको पाइँदैन । तीन चार दशकदेखि समान समस्या रहिरहने हो भने सरकार र कर्मचारीतन्त्र किन आवश्यक पर्यो ?
आर्थिक वृद्धिदरको तथ्यांक हेर्दा लामो समयदेखि निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको देखिन्छ । यसो हुनुमा सरकारकै हात छ । एक त समयमा ठेक्का लगाएर पूर्वाधार निर्माणलाई गति दिइँदैन, अर्को निर्माण सम्पन्न आयोजनाको भुक्तानी दिइँदैन । यस्तोमा निर्माण क्षेत्र समस्यामा पर्नु स्वाभाविक हो । सरकारले ढुकुटीमा पैसा छ, यति महीनालाई पुग्ने विदेशी विनिमय सञ्चिति छ, शोधनान्तर बचतमा छ भनेर सफलताको बखान गर्नुको कुनै अर्थ छैन । दायित्व भुक्तान नगरी बचत छ भन्नु वास्तवमा दिवालिया सोच हो । विगतमा कन्जुस अर्थमन्त्रीको उपनाम पाएका डा. रामशरण महतले बजेटमा निकै कडाइ गर्थे तर यस्तो दायित्व भुक्तानलाई भने प्राथमिकता दिन्थे । यद्यपि यस्तो भुक्तान रोकिएको पहिलो होइन । पञ्चायत कालदेखि नै प्राय: सबै सरकारले यस्तै गर्दै आएका छन् तर अहिले चाहिँ ठूलो रकम लामो समयदेखि रोकिएको छ । यसले अर्थतन्त्रलाई नै पंगु बनाउने काम गरेको छ ।
निर्माण व्यवसायीको मात्रै होइन, सरकारी कम्पनी दुग्ध विकास संस्थानले पनि किसानलाई दूधको पैसा भुक्तानी गरेको छैन । कर्मचारीको सुविधा वृद्धि आदिका लागि संस्थानसँग पैसा छ तर किसानलाई भुक्तान गर्ने पैसा छैन । किसानसँग पटकपटक सम्झौता गरेर पनि भुक्तानी दिइएको छैन । दूध विक्री भएन भन्ने तर्क गरेर कम्पनी उम्किन मिल्दैन । त्यो विक्री गर्ने जिम्मा कम्पनीको हो र किसानलाई भुक्तानी दिने जिम्मेवारी पनि त्यही कम्पनीको हो । नेपालको अर्थतन्त्रमा दशकौंदेखि उही प्रकृति र उही समस्या रहिरहेका देखिन्छन् । तर, ती समस्याको समाधानमा सरोकारवालाले प्रभावकारी काम गरेको पाइँदैन । तीन चार दशकदेखि समान समस्या रहिरहने हो भने सरकार र कर्मचारीतन्त्र किन आवश्यक पर्यो ? तिनलाई पाल्न जनताको करको दुरुपयोग मात्रै हुन्छ । त्यसैले सरकारले आफ्नो दायित्व भुक्तानी गर्न प्रमुख प्राथमिकतामा राख्नैपर्छ ।