अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकभर दर्जनभन्दा बढी नेपालीले अकालमा ज्यान गुमाएका छन् भने थुप्रै घरगोठ, सडक आदि भौतिक पूर्वाधारमा क्षति पुगेको छ । यो हरेक वर्ष आउने समस्या हो तर त्यसको क्षति न्यूनीकरण, पूर्वसावधानी र तत्काल उद्धारमा अझै प्रभावकारी काम हुन सकेको छैन । वर्षा भर्खर शुरू भएकाले जनधनको क्षति अझै कति हुने हो थाहा छैन । अहिले सूचनाप्रविधिको विकास भएकाले अझ कम क्षति भएको देखिन्छ । तैपनि सरकारले पूर्वतयारी गर्न भने पुगेको छैन ।
नेपालमा बाढीपहिरोबाट हुने धेरैजसो क्षति अव्यवस्थित बसोवास र योजनाका कारण भएको देखिन्छ । नदीकिनारमा बस्ती विस्तारको क्रम बढ्दो छ भने वर्षामा आउने बाढी र त्यसको निकासको राम्रो व्यवस्था हुन सकेको छैन । त्यसैले काठमाडौंदेखि नेपालका प्राय: सबै शहरमा पानी जमेर समस्या भएको देखिन्छ । नदीका बाटो छेक्ने गरी बस्ती विस्तार रोक्ने नीति लिन आवश्यक छ । त्यस्तै डोजरे विकासको नामले चिनिएको जथाभावी सडक खन्ने कामले पहाडमा पहिरोको सम्भावना बढाएको छ । सरकारले बनाएका राष्ट्रिय राजमार्गमा समेत कम पहिरो जाने प्रविधिको प्रयोगमा ध्यान दिइएको छैन । बनिसकेका राजमार्ग विस्तारका नाममा पहाड खोस्रँदा पनि समस्या भएको छ । यसको उदाहरण नारायणगढ–मुग्लिन खण्डको सडकलाई लिन सकिन्छ । सडक निर्माण गर्दा थर्किएको जमीन जमेर पहिरो जान कम भइसकेको अवस्थामा विस्तारका लागि फेरि जमीन कोतरियो । त्यो सडक यथावत् छाडेर पारिबाट नयाँ बाटो बनाएको भए त्यहाँ क्षति कम हुन्थ्यो । नदीका दुवैतर्फ बाटो बनाउने नीतिमा गएको भए एकातिरको बाटो बन्द भए अर्कातर्फको सञ्चालन हुँदा समस्या कम हुन्थ्यो तर सरकारले यसमा ध्यान दिएन । नेपाल जस्तो पहाडी मुलुकमा सडक बनाउँदा शुरूङ र पिलर बढी प्रयोग भएको भए शायद यस्तो पहिरोको समस्या कम आउँथ्यो । अहिले नेपालका पहाडको कुनै पनि भूभाग डोजरले खन्न बाँकी छैन होला । यो विनायोजना र विनाअध्ययनका यस्ता सडक नै पहिरोका कारण मान्न सकिन्छ ।
अहिले आएको बाढीका कारण दर्जनौं जलविद्युत् आयोजना बन्द गरिएका छन् । गति वर्षमा दर्जनौं आयोजनामा क्षति पुगेको थियो । तीमध्ये केही त अझै सञ्चालनमा आउन नसकेको अवस्था छ । आयोजनाका प्रवद्र्धकहरूले यस्तो क्षति पुगेका आयोजना मर्मतका लागि आयात गरिने सामानमा कर छूटलगायत सुविधा माग गरेका थिए । तर, सरकारले त्यसका सुनुवाइ गरेन । यस्ता आयोजनाका क्षति बीमाले थेग्ने गरी बीमा गरिनुपर्छ र त्यसमा सरकारले केही सहजीकरण गरिदिनु पनि उपयुक्त हुन्छ । प्रकृतिसँग मानिसले निहुँ खोज्नेभन्दा पनि त्यसको गति र अवस्था बुझेर विकास निर्माणका कार्य गर्नुपर्छ । यसो हुँदा दिगो विकासको आधार तय हुन्छ । नेपालमा त्यसो हुन सकेको छैन । यस्तो प्राकृतिक विपद् आइरहने भएकाले त्यसबाट हुने क्षति काम गर्ने दिगो र प्रभावकारी योजना ल्याउन आवश्यक देखिन्छ ।