काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ ३१ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २ गते बुक क्लोज गर्दैछ । असोज १ गते इन्द्रजात्राको अवसरमा उपत्यका बिदा भएका कारण शेयर बजार बन्द हुनेछ ।
सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आगामी असोज १६ गते काठमाडौंको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव ७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।