काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । गत आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि भदौ १४ गते नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । भर्चुअल माध्यमबाट दिनको ३ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्नेछ । आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनलगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय पनि सभाले गर्नेछ ।
वार्षिक साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ ।