गृहमन्त्री रवि लामिछानेले पतञ्जली योगपीठले हदबन्दीभन्दा बढी जग्गा अपचलन गरेको विषयमा अनुसन्धान गर्न फाइल खुलेको बताएका छन् । संसदीय समितिले यससम्बन्धीमा फाइल मगाएको छ । त्यस्तै लामिछानेले ललितानिवासदेखि क्यान्टोनमेन्टसम्मका फाइलमा अनुसन्धान भइरहेको दाबी गरेका छन् । सरकारले पुराना फाइल खोलेर भ्रष्टाचारको अनुसन्धान गर्नु सकारात्मक हो । तर, अनुसन्धान कुनै टुङ्गोमा पुग्छ कि पुग्दैन र पुगे पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने ठूलो प्रश्न हो । काम शुरू नै भएको छैन भने गृहमन्त्रीले यसलाई उत्पातै ठूलो उपलब्धिको रूपमा प्रस्तुत गर्नु त्यति सुहाएन ।
नेपालमा भ्रष्टाचारले जरा गाडेर बसेको र अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउने निकाय नै स्वच्छ नभएको अवस्था छ भन्न सकिन्छ । ललितानिवासदेखि सुन काण्डको अध्ययनसम्म र नक्कली भुटानी शरणार्थीसम्बन्धी अनुसन्धानका कुरा सबै अधुरा रहेका छन् ।
गृहमन्त्री लामिछानेले सहकारीबाट गलत तरीकाले ऋण लिएको विषयमा गठित संसदीय छानबिन समितिको काम पनि खासै अघि बढ्न सकेको छैन । यसमा पनि क्षेत्राधिकारको प्रश्न उठिसकेको छ किनभने प्रदेशले नियमन गर्ने सहकारीहरू पनि संसदीय छानबिन समितिअन्तर्गत राखिएको छ । यो समितिले गृहमन्त्री लामिछानेलाई सफाइ दिन्छ कि दोषी देखाउँछ हेर्न बाँकी छ । दोषी देखाएमा के उनी पदबाट राजीनामा दिन्छन् त भन्न प्रश्न पनि छ । अहिले बढाउन खोजिएको अनुसन्धान सहकारी अनुसन्धानमा आफूलाई बचाउन राजनीतिक मोलमोलाइमा प्रयोग हुने हो कि भन्ने आशंका पनि छ ।
त्यसो हुँदा अहिले जसरी गृहमन्त्रीले सबका सब फाइल खोल्दै जाने भनेर जुन अभिव्यक्ति दिएका छन् त्यो पनि स्वच्छ र पारदर्शी हुनेमा आशंका छ । विनापूर्वाग्रह भ्रष्टाचारको अनुसन्धान स्वागतयोग्यमात्र होइन, प्रशंसनीय काम हो । तर, चर्चाका लागि मात्र यस्तो काम हुँदा त्यसले निम्त्याउने आर्थिक र सामाजिक समस्या गम्भीर हुनेछ । प्रभावकारी व्यक्तिहरू जोडिएको विषयमा अख्तियारलगायत भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायले कि त मुद्दा दायर नै नगर्ने कि कमजोर मुद्दा दायर गरेर क्लिन चीटका लागि बाटो खोलिदिने गरेको आरोप पनि लाग्ने गरेको छ । नेपालमा भ्रष्टाचार बढ्नुको एउटा कारण सत्ताकेन्द्रित राजनीति हो ।
नेपाली समाज भ्रष्टाचारको जालोले नराम्ररी प्रभावित छ । अझ भन्ने हो भने यसले सामाजिक मान्यता नै पाइसकेको छ । यो जालो तोड्न निकै सुझबुझपूर्ण अनुसन्धान आवश्यक छ र प्रमाणितमाथि कडा कारबाही जरुरी हुन्छ ।
विद्यमान संवैधानिक व्यवस्थाले गर्दा कुनै एक दलले बहुमत ल्याउन निकै कठिन भएको छ । संसद्मा कसैको पनि बहुमत नहुँदा सत्तामा पुग्न र टिकाउन जेजस्तो सम्झौता पनि गर्नुपर्ने बाध्यता हुन्छ । यही बाध्यताका बीच राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता सम्हाल्न पुगेको हो । यस्तोमा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्रीको संलग्नताको आशंका गरिएको क्यान्टोनमेन्टको रकम दुरुपयोगसम्बन्धी फाइल खोल्छु भनेर दाबी पत्याउन गार्हो विषय हो । यो अख्तियारले अनुसन्धान गरी मुल्तबीमा राखेको विषय हो । प्रधानमन्त्री पुष्पकमल दाहाल जोडिएको यो प्रकरणमा उनकै क्याबिनेटका एक मन्त्रीले अनुसन्धान गर्छु भन्नु वक्तव्यबाजी मात्रै लाग्छ । कसैका पनि फाइल खोल्न आफूलाई समस्या नहुने गृहमन्त्रीको भनाइ जोसिलो सुनिन्छ । तर, के साँचिकै फाइल खोलेर असल नियतसाथ भ्रष्टाचारको अनुसन्धान र कारबाही होला ? रास्वपा नयाँ नारा र जोशका साथ उदय भएको पार्टी हो ।
स्थापित नेता र प्रणालीविरुद्ध चर्को अभिव्यक्ति दिएर उदाएको पार्टी सरकारमा सामेल भएपछि विकृतिविरुद्ध उसले गरेका कामले नै उसको विश्वसनीयता स्थापित हुने हो । तर, सरकारमा सामेल भएको सय दिन नाघे पनि आशालाग्दो ठोस काम भएको देखिँदैन । हो, जनतालाई विश्वासमा पार्न सक्ने अभिव्यक्ति भने गजबको छ । यस्तो अभिव्यक्ति कलाले निराश जनतामाझ जादू छर्नु सामान्य हो तर वर्तमान प्रणालीको उपयोग गरेर परिवर्तन ल्याउनु अर्को विषय हो जुन निकै कठिन हुन्छ । रास्वपाले त्यस्तो परिवर्तनको आशालाई साकार पार्नेतर्फ बलियो पाइला चाल्न भने सकेको छैन ।
नेपाली समाज भ्रष्टाचारको जालोले नराम्ररी प्रभावित छ । अझ भन्ने हो भने यसले सामाजिक मान्यता नै पाइसकेको छ । यो जालो तोड्न निकै सुझबुझपूर्ण अनुसन्धान आवश्यक छ र प्रमाणितमाथि कडा कारबाही जरुरी हुन्छ । त्यस्तो भरपर्दो अनुसन्धान हुने आधार सरकारले देखाउन सक्नुपर्छ । विद्यमान संरचनामा विकृतिमाथि प्रहार गर्न सक्नुपर्छ तर विकृत प्रणालीलाई नै मलजल गर्ने खालको कार्यप्रणाली अँगालेर भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सकिँदैन ।