भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम शुरु

ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजना आसपास क्षेत्र । फाइल तस्वीर

Share News

दमौली (तनहुँ) । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः शुरु भएको छ । 

संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत् प्राप्त हुने प्रतिबद्धता सम्बन्धित निकायले व्यक्त गरेपछि आयोजनाको काम पुनः प्रारम्भ भएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । यो प्याकेजमा हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको छ । 

गत असार २२ गते सेतीको बाढीबाट प्याकेज वानको निर्माणस्थलमा क्षति भएको छ । बाढीले ‘क्रसर र कुलिङ प्लाण्ट’मा क्षति हुनका साथै निर्माणस्थलमा राखिएको ढुङ्गागिटीलगायत निर्माण सामग्री बगाएको थियो । यो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो बाँध निर्माणका लागि सेती नदीको धार पथान्तरण गर्न दुई ओटा ‘डाइभर्सन सुरुङ’ निर्माण सम्पन्न भएका छन् । 

आयोजनाको एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि पहाड खन्न बाँकी छ भने सेती नदीका दुवै किनारमा ‘ग्याली सुरुङ’ निर्माणाधीन छन् । रासस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।