काठमाडौं । काभ्रेपलाञ्चोक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको वताए । “हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ”, उनले भने ।
उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले भने वताए । अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ ।
माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ । उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो । पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।
डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ । हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ ।
राजमार्गको कुल एक सय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी रु ३५ करोड लागत थियो । सो रकम हालको मूल्याङ्कन अनुसार रु ५० करोडभन्दा माथि हो । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान रु दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले वताए ।
बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो ।
वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौँ आवागमन
मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ ।
वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुुभयो ।
सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडौं आवतजावत गर्थे । काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडाँैका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।
सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ ।