बजार वृद्धि एक दिनभन्दा बढी टिकेन, १.२३ प्रतिशत घट्यो नेप्से

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । गत बुधवार १ दशमलव ७१ प्रतिशत बढेर बन्द भएको नेप्से बिहीवार (आज) १ दशमलव २३ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६८२ दशमलव २९ विन्दुमा झरेको हो ।

कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा आज बढेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ५ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब १४ करोड बराबरको कारोबार भएको हो । 

बुधवारअघिका पाँच कारोबार दिन बजार घटेको थियो । त्यो अवधिमा बजार न्यून विन्दुमा रहँदा २ हजार ६६० अंकसम्म झरेको थियो । बुधवार बैंकिङ्ग समूह बढेपछि नेप्से २७ सय विन्दुमाथि पुगेको थियो । तर, त्यो वृद्धि एक दिनभन्दा बढी टिक्न सकेन ।

यसबाट लगानीकर्ता बजार वृद्धिप्रति विश्वस्त नभएको देखिएको जानकार बताउँछन् । बिहीवार अल्पकालिन कारोबारीहरू हाबी भएकाले बजार घटेको जानकारहरूको भनाइ छ ।  

यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३८ प्रतिशत, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४५ प्रतिशत र फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत घटेको छ । 
आज १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता शेयर ६७ हजार १२८ पटक कारोबार भएको छ ।

आज कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५६० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ । यस बैंकको शेयर मूल्य ७ दशमलव ५४ प्रतिशत बढेर रू. १ हजार ३५५ कायम भएको छ । 

बिहीवार जानकी फाइनान्सको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८६१ दशमलव २० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमादोस्रोमा ईङ्वा हाइड्रोपावर छ । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ६ दशमलव ४३ प्रतिशत घटेर रू. ६८२ दशमलव १० कायम भएको छ । 

आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २६ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सर्वोत्तम सिमेन्ट छ । यस कम्पनीको रू. २१ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये म्युचुअल फण्ड समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ३९ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ६४ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।