काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि चाँडै तयार गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा आज बसेको मन्त्रालयका उच्च नेतृत्वको बैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा सशर्त सञ्चालनमा रहेका कार्यक्रमको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।
मन्त्रालय र अन्तर्गतका निकायहरूबाट तल्लो तहसम्म प्रवाह हुने सेवा सरल र सहजरूपमा पुग्न आवश्यक रहेकोमा जोड दिँदै मन्त्री अधिकारील यसका लागि मन्त्रालयका संयन्त्रहरूको प्रभावकारी परिचालनको आवश्यकता रहेको जोड दिए ।
चैते धान न्यूनतम समर्थन मूल्यभन्दा कममा विक्री गर्नुपरेको किसानको गुनासो सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए ।
बैठकमा गाईभैंसीमा लाग्ने लम्की स्किन र अफ्रिकन स्वाइन फिभर नियन्त्रणका लागि हाल भइरहेका प्रयास, दुग्ध किसानलाई दुधको रकम भुक्तानीका लागि भएका प्रयास र हालको अवस्था, रासायनिक मल आयात र वितरणको अवस्थाबारे मन्त्री अधिकारीले जानकारी लिएका थिए ।
त्यस्तै मन्त्री अधिकारीले प्लान्ट क्वारेण्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई फूल तथा फलफूलका बिरुवाजन्य उत्पादनको आयात रोकी स्वदेशी उत्पादनलाई प्रोत्साहन एवं नर्सरीलाई प्रवर्द्धन गर्न निर्देशन दिए ।
बैठकमा मन्त्रालयका सचिव कृषि विकासतर्फ डा. गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकासतर्फ डा. दीपक कुमार खरालसहित विभाग, महाशाखा एवं कार्यालय प्रमुखहरूले सम्बन्धित विषयको जानकारी गराएका थिए ।