ढाका (बंगलादेश) । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले बुधवार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।
बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
राष्ट्रपति शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।
‘बैठकमा प्रोफेसर डा. मुहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रूत गठन आवश्यक छ ।’
बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनेछन् ।
उनले पत्रकारलाई बताएअनुसार शहाबुद्दीनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाएका छन् ।
हाल युरोपमा रहेका युनुसले गत मंगलवार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएका थिए । ‘यदि देश र जनताका लागि मैले जिम्मेवारी लिन आवश्यक छ भने म लिनेछु,’ उनले भने ।
विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले एक विज्ञप्तिमार्फत ‘स्वतन्त्र निर्वाचन’को पनि आह्वान गरेका छन् । रासस