विश्वका धेरै देशले विमानस्थल बनाउँदा सकेसम्म बस्तीभन्दा टाढा बनाउने गरेका छन् भने कतिपय देशले त बस्ती बढेपछि विमानस्थल नै सारेको पनि पाइन्छ । तर, नेपालको अन्तरराष्ट्रिय विमानस्थल बाक्लो बस्तीका बीचमा रहेकाले यो विमानस्थल र बस्ती दुवैका लागि निकै जोखिमपूर्ण बनेका छन् ।
विश्वमा भएका हवाई दुर्घटनामध्ये धेरैजसो दुर्घटना विमान उडान र अवतरणकै क्रममा भएको पाइन्छ । त्यसो हुँदा विमानस्थलभित्रै दुर्घटनाबाट जोगाउन आवश्यक सबै बन्दोबस्तीको पूर्ण तयारी गरिएको हुन्छ र उच्च सतर्कताका साथ तिनलाई तैनाथ गरिएको हुन्छ । त्यस्तै उद्धार अभ्याशहरू पनि बारम्बार हुने गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि यही कुरा लागू हुन्छ । तर, त्रिभुवन विमानस्थलको उडान अवतरण स्थलको वरिपरि बाक्लो बस्ती रहेको छ ।
यदि दुर्घटना भएर अलिकतिमात्रै यताउता भयो भने धेरै नै ठूलो क्षति हुन सक्छ । २०७४ सालमा भएका यूएस बंगलाको विमान दुर्घटनामा विमानले थोरै मात्र अर्को दिशा लिएको भए सीधै बस्तीमा दुर्घटना हुन्थ्यो । हालै भएको सौर्य एयरको विमान पनि अतिकति उडान लिएर दुर्घटना भएको भए बौद्धको नयाँ बस्तीमा ठूलै क्षति हुन सक्थ्यो । पहिला त्यहाँ विमान खसेको पनि थियो । तर, त्यतिबेला त्यहाँ बस्ती नभएकाले क्षति भने भएन । त्यसैले काठमाडौंमा रहेको त्रिभुवन विमानस्थलका कारण आसापासका बस्ती निकै असुरक्षित छन् । विमान दुर्घटनाले त्यहाँका बासिन्दामा त्रास पैदा गरेको छ ।
गौचरनलाई नै विमानस्थलका रूपमा प्रयोग गरिएकाले र यसैमा नयाँनयाँ सुविधा थप्दै विस्तार गर्दै लगिएकाले यो विमानस्थल वरपर बस्ती भएको हो । अझ विगतमा सिनामंगलमा चक्रपथबाहिर अहिले आयल निगमको पेट्रोल ट्यांकी भएनेर पनि बस्ती थियो । त्यहाँको बस्ती पछि खाली गरिएको थियो । विमानस्थलको पूर्वपट्टि पनि सानो बस्ती थियो । तर, अहिले त्यो निकै बाक्लो बनिसकेको छ । विमान अवतरण र उडान हुने इमाडोलपट्टि पनि तीव्र गतिमा विस्तार भइरहेको छ । विमानस्थल बनिसकेपछि यी क्षेत्रमा बस्ती विस्तारमा रोक लगाउन सक्नुपथ्र्यो तर सरकारले त्यसतर्फ ध्यान दिएन । अब त्यहाँको बस्ती सार्न निकै कठिन छ । बस्ती सार्नभन्दा विमानस्थल सार्न बढी सजिलो देखिन्छ ।
मानिसको ज्यान सबैभन्दा ठूलो कुरा हो । नेपालजस्तो देशले यस तथ्यलाई खासै महत्त्व दिएको देखिँदैन । तर, मानिसको ज्यान जोखिममा पर्नेगरी विमानस्थल सञ्चालन गरिरहनु उपयुक्त मानिँदैन । संघीय राजधानीमा त्रिभुवन विमानस्थलको विकल्प छैन । तर, मुख्य विमानस्थल अन्यत्र बनाउन सके यहाँको चाप कम हुन्छ । यहाँको चाप कम हुनुको अर्थ बढी सुरक्षा हुनु हो । त्यसैले अन्तरराष्ट्रिय उडानको अबको चाप थेग्नका लागि पनि निजगढ विमानस्थल बनाउन ढिला गर्नु हुँदैन । अहिले बनाउन थालियो भने पनि त्यो सञ्चालन आउन १ दशक लाग्न सक्छ । एक दशकका लागि पनि त्रिभुवन विमानस्थल अपुग देखिन्छ । गतवर्ष दशैंमा अत्यधिक उडानको रेकर्ड बनेको थियो । त्यति बेला विमानस्थल अति व्यस्त भएकाले कयौं उडान आकाशमै होल्ड हुन पुगेका थिए ।
अब बन्ने विमानस्थलको पाँचदश किलोमीटर वरपर बस्ती बसाउन दिनु हुँदैन । निजगढ विमानस्थल त्यहाँ नजिकको टांगिया बस्ती हटाउन आवश्यक पर्छ । अरू त जंगल क्षेत्र पर्ने भएकाले बस्तीको समस्या त्यति देखिँदैन । तैपनि वरपर बस्ती बसाल्न नदिने गरी शुरूमै नीति बनाइनु आवश्यक छ । सरकारले निजगढ विमानस्थल बनाउन त्यति चासो दिएको देखिँदैन । आन्तरिक लगानीले बनाउन कठिन भएकाले वैदेशिक लगानी ल्याउन आवश्यक छ । केही विदेशी कम्पनीले चासो देखाए पनि सरकारको अन्यमनस्कता र ढिलासुस्तीका कारण ती कम्पनीले चासो दिन छाडेको देखिन्छ । अब सरकारले सम्भावित लगानीकर्ता खोज्ने र लगानी मोडल तय गर्ने काममा विलम्ब गर्नु हुँदैन ।