logo
९ अर्बभन्दा बढीको धितोपत्र कारोबार नेप्से भने घट्यो
९ अर्बभन्दा बढीको धितोपत्र कारोबार
१७ बैशाख २०८२

काठमाडौं । धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि घटेको छ । सोमवारदेखि घटेको बजार बुधवार पनि ८ दशमलव १४ अंकले घटेर बन्द भएको हो ।

यो दिन बजार २ हजार ६४२ दशमलव शून्य ७ विन्दुसम्म पुगेको थियो भने २ हजार ६२२ दशमलव ७२ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६२३ दशमलव ८३ विन्दुमा बजार बन्द भएको छ ।

पछिल्लो समय बजारले सकारात्मक गति लिन नसकेको अवस्था छ । चैत मसान्तको दबाब सकिएपछि लगानीकर्ता केही उत्साहित हुने अपेक्षा ब्रोकरहरूले गरेका थिए ।

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदा यता लगानीकर्ता पनि 'पर्ख र हेर'कै अवस्थामा रहेको ब्रोकरहरूको बुझाइ छ । बुधवार घटेको बजारमा १०७ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १३६ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन एक कम्पनीको मूल्य भने स्थिर रहेको छ । खानीखोला हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ३४२ रुपैयाँमा नै स्थिर रहेको हो । 

यो दिन समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । समाज लघुवित्तको शेयर मूल्य प्रतिकित्ता २१७ रुपैयाँले बढेर अन्तिम मूल्य २ हजार ३८७ रुपैयाँ कायम भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १२६ रुपैयाँ १० पैसाले बढेर अन्तिम मूल्य १ हजार ३८७ रुपैयाँ ४० पैसा कायम भएको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १०४ रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य १ हजार १४७ रुपैयाँ कायम भएको छ ।

यो दिन भूगोल इनर्जीको शेयर मूल्य भने सर्वाधिक १० प्रतिशत अर्थात् प्रतिकित्ता ८६ रुपैयाँ २२ पैसाले घटेर अन्तिम मूल्य ७७६ रुपैयाँ ४० पैसा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने यो दिन बढेको छ ।

मंगलवार ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको १ करोड ८४ लाख ९१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको २ करोड ४६ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

कुल कारोबार रकममा यो दिन राधी विद्युत कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । राधीको ५८ करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको राधीको शेयर मूल्य भने प्रतिकित्ता ३ रुपैयाँ ८० पैसाले बढेर प्रतिकित्ता ६६५ रुपैयाँ १० पैसा कायम भएको छ ।  

यो दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ७६ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ कायम थियो । बुधवार कुल बजार पूँजीकरण १३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीले घटेको हो । बजार घटेसँगै पछिल्लो समय कुल बजार पूँजीकरण समेत घटिरहेको छ ।

बुधवार वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २४ प्रतिश घटेको छ भने जलविद्युतको शून्य दशमलव ६१ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र व्यापारिकको शून्य दशमलव ४० प्रतिशत परिसूचक बढेको छ ।

बुधवारको कारोबारमा बनेको मैनबत्तीलाई हेर्दा लामो टुप्पी र छोटो पुच्छर भएको रातो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा पनि बजार बढ्ने सम्भावना कम रहेको संकेत गर्छ ।  

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.