ब्याजदर घटेसँगै नेप्से २१०० विन्दुमाथि पुग्यो, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ता !

Share News

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक १५ दशमलव ३३ अंक बढेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार १ सय १ दशलमव १६ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत वृद्धि भएको छ । फागुन महीनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर निकै तल आइसकेको छ । निक्षेपसँगै अब कर्जाको ब्याजदर पनि सस्तो हुँदै जाने भएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । 

त्यस्तै चालू आर्थिक वर्षको पहिलो ६ महीनासम्मको तथ्यांकले बाह्य क्षेत्र बलियो बनेको देखिएको छ । यसले गर्दा राष्ट्र बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केही लचिलो नीति ल्याउने अपेक्षामा यस दिन बजार सकारात्मक भएको लगानीकर्ता बताउँछन् । समीक्षामार्फत यसअघि कसिएका नीतिहरू थप खुकुलो भएमा त्यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने उनीहरूको भनाइ छ । 

सोमवार ३१४ धितोपत्रको १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर ७५ हजार १०५ पटकमा रू. ३ अर्ब ५८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । बोटलर्स नेपालको शेयर मूल्य प्रतिकित्ता रू. ६ हजार ९९६ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ११७ पुगेको हो । 

सोमवार सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाइधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ८ दशमलव ८९ प्रतिशत घटेको छ । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ८९ कायम भएको छ । त्यस्तै दोस्रोमा इर्मजिङ्ग नेपालको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशत घटेर रू. ८२२ मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड २ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९२ दशमलव १० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको रू. १६ करोड ३० लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १ दशलमव ८३ प्रतिशत वृद्धि भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।