काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो चार महीनामा ५ खर्ब २१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको पहिलो चार महीनाको तुलनामा यो आवको सोही अवधिमा विप्रेषण आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पहिलो चौमासमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ छ । गत वर्षको सोही अवधिमा भने यो संख्या १ लाख ३७ हजार ४७५ थियो ।
चालू आवको पहिलो चौमासिकमा पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ छ । गत वर्षको सोही अवधिमा भने यो संख्या ६८ हजार ८४१ थियो ।