विराटनगर । पछिल्लो समय उद्योग र व्यवसायको कारोबारमा दिइने चेक बाउन्स हुने र त्यसको कानूनी उपचारमा जाँदा राजनीतिक र गैरराजनीतिक दबाब आएर उद्योगी, व्यवसायीमाथि असुरक्षा बढेको सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।
मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक भीमबहादुर ढकालसमक्ष उद्योगी, व्यवसायीले आर्थिक मन्दीबाट उद्योग व्यवसायको क्षेत्रमा उत्पन्न असुरक्षाबारे बताएका हुन् ।
संघका कार्यवाहक अध्यक्ष अनिशकुमार साहले पछिल्लो समय चेक बाउन्स घटनामा कानूनी उपचारमा जाँदा चेक अनादर गर्ने व्यक्तिले विभिन्न शक्ति केन्द्रमार्फत उद्योगी व्यवसायीलाई धाकधम्की दिने गरेकाले बक्यौता उठाउन समस्या भएको बताए । पछिल्लो समय प्रहरीले कुनै पनि घटनामा उद्योगी, व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरेकाले अब पहिले सुन्न आग्रह गरे ।
परिसंघ कोशीका अध्यक्ष पवनकुमार शारडाले चेक बाउन्सको समस्यासँगै ३०औं वर्षदेखि चलिरहेको उद्योगमा कृत्रिम मोही खडा गर्ने र उद्योगीलाई आर्थिक क्षति पुर्याउने भू–माफियाको गिरोह सक्रिय भएको बताए । त्यस्ता गिरोहले मालपोतका कर्मचारीसँग मिलेर मोही खडा गरी उद्योगीलाई दु:ख दिने गरेको उनले दाबी गरे ।
संघका निर्वतमान अध्यक्ष नवीन रिजालले देशको अर्थतन्त्र कमजोर हुँदा अपराध बढेको बताए । उनले चेक बाउन्सका समस्या जटिल बन्दै गएको उल्लेख गर्दै तेस्रो मुलुकबाट आयात हुने सामग्री सडकमा रोकेर ट्राफिकले भन्सारको कागजात हेर्ने गरेको समेत बताए । यसो हुँदा ढुवानी साधन गन्तव्यमा पुग्न ढिला भई बढी भाडाको भार उद्योगीले उठाउनुपरेको उनको गुनासो छ ।
परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले मुलुकको आर्थिक अवस्था खस्कँदै गएको बेला उत्पन्न हुने आर्थिक अपराध न्यूनीकरण गर्नुपर्ने उल्लेख गर्दै पछिल्लो समय प्रहरी प्रशासनले शान्ति सुरक्षामा निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले ट्राफिकले उद्योगको कच्चा पदार्थ र तयारी वस्तु बोकेका ट्रकको कागजात चेक गर्नु गैरकानूनी भएकाले त्यसकाविरुद्ध कुनै सहज उपाय निकाल्न आग्रह गरे । एक ठाउँमा चेक भइसकेपछि दुई–दुई किलोमीटरको फरकमा चेक हुँदा समस्या उत्पन्न भइरहेको बताए । चेक बाउन्समा सहजीकरण गर्न उनले प्रहरीलाई आग्रह गरे । ट्राफिकको अनावश्यक चेकिङ र इटहरीमा असुलिने अवैध पार्किङ शुल्कको कारण भारतबाट आउने पर्यटक हतोत्साहित हुने गरेको गुनासो पर्यटन व्यवसायी भविश श्रेष्ठले गरे ।
संघका उपाध्यक्ष विकास वेगवानीले सुन किन्न र विक्री गर्न असुरक्षित भएको भन्दै सुन व्यवसायीलाई हतियारसहितको सुरक्षा गार्ड राख्न दिनुपर्ने बताए । उनले पनि चेक बाउन्समा चेक अनादर गर्नेले नै धम्क्याउने गरेको गुनासो सुनाए ।
ट्रान्सपोर्टेसन एशोसिएशनका सुशील जोशीले एक ठाउँमा चेक भइसकेको मालवाहक गाडीमा क्यूआर स्टीकर टाँस्ने र त्यसलाई परैबाट स्क्यान गरी गन्तव्यसम्म विनाअवरोध जान दिने व्यवस्था मिलाउन प्रहरीसमक्ष आग्रह गरे । प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले पर्यटक प्रहरी कोशी प्रदेशमा ११ स्थानमा राख्न लागेको जानकारी दिए । अन्य विषयमा समन्वय गरेर काम गर्न सकिने उनले बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले उद्योगी व्यवसायीले दिने सूचना र सहयोगका आधारमा सीमामा हुने अवैध निकासीपैठारी रोक्न सकिने बताए । चेक बाउन्समा प्रहरीलाई खुलेर कुरा आए उद्योगी, व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ढकालले अपराध नियन्त्रणमा समाजको पनि प्रमुख भूमिका हुने भएकाले सीसी क्यामेरा घर, उद्योग र पसलअगाडि राख्न सुझाव दिए । उनले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि आफूहरू सधैं तयार रहेको उल्लेख गर्दै प्रारम्भिक सुरक्षामा उद्योगीहरूले पनि ध्यान दिनुपर्ने सुझाव दिए । विशेष सुरक्षामा प्रहरी संवेदनशील रहेको उनको भनाइ छ ।