नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीन नेपालको व्यापार घाटा हुने मुलुकमा पनि दोस्रो नै बनेको छ । नेपालले चीनसँग बढ्दो व्यापारघाटा कम गर्न गम्भीर रणनीति बनाएर कार्यान्वयन गर्न ढिला भइसकेको छ । नेपालको व्यापारघाटाको आँकडा प्रत्येक वर्ष बढ्दो छ । सरकारले निर्यात बढाउने, आयात प्रतिस्थापन गर्ने र केही कृषि वस्तुमा आत्मनिर्भर हुने कार्यक्रम ल्याए पनि व्यापार घाटाको आँकडा भने निरन्तर उकालो लागिरहेको छ । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भएको अवस्थामा घाटा पनि कम भयो । तर, आर्थिक गतिविधि सुचारु भएसँगै फेरि व्यापारघाटा उकालो लागिरहेको छ ।
दक्षिणी र उत्तरी दुई छिमेक नेपालका प्रमुख व्यापारिक साझेदार हुन् । यी दुवै देशसँग नेपालको व्यापार निकै ठूलो रहेको छ । नेपालले कुल १७० देशसँग व्यापार गरेकामा अधिकांश मुलुकसँग व्यापारघाटा रहेको छ । व्यापार नाफा भएका मुलुकसँग पनि आँकडा भने निकै कम रहेको छ । चालू आर्थिक वर्षमा चीनबाट २ खर्ब ९८ अर्बभन्दा बढी रुपैयाँको सामान आयात भयो भने निर्यातचाहिँ २ अर्ब ५० करोडभन्दा केही बढी मात्रै भएको छ । त्यस्तै अघिल्लो आव २०७९/८० मा २ खर्ब २९ अर्बको वस्तु आयात भएको थियो, जुन २०७८/७९ को दाँजोमा १५ दशमलव ८१ प्रतिशतले कम हो ।
त्यसैगरी निर्यात २०७८/७९ को दाँजोमा आव २०७९/८० मा ७७ दशमलव ४४ प्रतिशतले बढेको थियो । यसरी निर्यात बढेको देखिनुको कारण बन्द उत्तरी नाकाबाट निर्यात थालिनु हो । प्रतिशतमा उच्च देखिए पनि निर्यात आँकडा भने ज्यादै कम छ । चीनबाट आयात हुने प्रमुख वस्तुमा स्मार्ट फोन पहिलो नम्बर पर्छ भने विद्युतीय सवारी दोस्रो स्थानमा छ । त्यसैगरी फलाम र स्टीलको आयात तेस्रो नम्बरमा रहेको छ । त्यसपछि क्रमश: मल, स्याउ र ल्यापटप आयात भएको देखिन्छ । स्टील र मलबाहेक अन्य वस्तुले उत्पादनमा खासै सहयोग गर्ने देखिँदैन । यसरी हेर्दा चीनसँग नेपालको व्यापारघाटा निकै चिन्ताको विषय देखिन्छ ।
चीन निर्यातका अवरोध के–के हुन् पत्ता लगाई प्रभावकारी उपायहरू अपनाई सम्भावनालाई साकार बनाउनेतिर लाग्नु जरुरी छ ।
नेपाललाई चीनले ८ हजारभन्दा बढी वस्तुलाई भन्साररहित सुविधा दिएको छ । तर, उसले सुविधा दिएका वस्तुहरू नेपालमा उत्पादन हुँदैन । तिनको उत्पादनको सम्भावना पनि कमै देखिन्छ । यस्ता वस्तुको छूटको अर्थ नरहेको कुरा नेपाल सरकारले चिनियाँ अधिकारीहरूलाई बुझाउन नसकेको हो कि भन्ने देखिन्छ ।
त्यस्तै चीनतर्फ वस्तु निर्यातमा गैरभन्सार अवरोध बढी देखिन्छ । खासमा नीतिगत र प्रविधिगत कमजोरीका कारण नेपालले निर्यात बढाउन नसकेको देखिन्छ । चीनले नेपाली उत्पादनलाई विभिन्न मापदण्ड र शर्त पूरा गरेपछि मात्रै उसको देशमा छिर्न दिन्छ । अम्लीय फलफूल निर्यातका लागि चीनसँग सम्झौता भए पनि नेपालको उत्पादनको परीक्षण र गुणस्तरको कुरा गरेर चीनले आयात गर्न मानेको छैन । त्यस्तै नेपालको चिया गुणस्तरीय भएकाले चीनले अर्डर दिएको समाचार आएको थियो । तर, त्यसमा पनि खासै प्रगति भएको देखिँदैन । नेपालबाट हस्तकलामा सामानहरू केही मात्रामा निर्यात भइरहेका छन् । तिनको निर्यातलाई सरकारले प्रोत्साहन गर्नु जरुरी देखिन्छ । चिनियाँ व्यवसायीको लगानी भएको वा तिनको संलग्नता भएका वस्तुको निर्यातमा त्यति समस्या नआउने गरेको व्यवसायीको भनाइ छ ।
विश्व बैंकले सन् २०२१ मा निकालेको प्रतिवेदनमा नेपालको निर्यात १२ गुणाले वृद्धि गर्न सकिने र सबैभन्दा धेरै चीनमा निर्यात बढाउन सकिने उल्लेख छ । विश्व बैंकका अनुसार चीनमा मात्रै २ खर्ब ९५ अर्बले निर्यात बढाउन सकिन्छ । त्यसैले चीन निर्यातका अवरोध के–के हुन् पत्ता लगाई प्रभावकारी उपायहरू अपनाई सम्भावनालाई साकार बनाउनेतिर लाग्नु जरुरी छ । संसारकै दोस्रो र पाँचौं अर्थतन्त्रको बीचमा रहेर पनि यति सानो निर्यात रहनु देशका लागि लज्जाको विषय हो ।