नेपालले चिनियाँ नागरिकलाई भिसा नि:शुल्क गरेको ८ वर्षपछि चीनले नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने निर्णय गरेको छ । यसअघि नेपालले २०७२ सालमा चिनियाँ नागरिकलाई भिसा नि:शुल्क दिने निर्णय गरेको थियो । नेपालले पनि भिसा शुल्क नलिन आग्रह गर्दै आएको थियो । त्यस्तो माग गरेको धेरै समयपछि यस्तो निर्णय आएको हो ।
नेपालमा लगानी सम्मेलन चलिरहेका बेला चिनियाँ अधिकारीले आगामी मे १ देखि शुल्क नलिने जानकारी दिएर नेपालप्रति चिनियाँ सद्भाव रहेको देखाउन खोजिएको छ । यसअघि गत महीना चीनले ६ ओटा यूरोपेली देशहरू स्वीट्जरल्यान्ड, आयरल्यान्ड, हंगेरी, अस्ट्रिया, बेल्जियम र लक्जम्बर्गलाई भिसा शुल्क नलिने निर्णय गरेको थियो । चीनले दुई देशबीच मित्रता प्रवर्द्धन गर्न र सर्वसाधारणको आवतजावत बढाउन यो निर्णय लिएको बताएको छ । यस कदमबाट धेरै नेपाली चीन जाने निश्चित त छैन तर यो सद्भावको एउटा उदाहरण चीनले प्रस्तुत गरेको भने हो ।
नेपालको उत्तरी चीनसँगको सम्बन्ध सुमधुर भए पनि समस्यारहित भने छैन । चीनसँग भाषाको समस्या भएकाले नेपालले आफ्ना कुरा सही ढंगले राख्न सकेको छैन ।
नेपालमा चिनियाँ पर्यटक आकर्षित गराउन भिसा नि:शुल्क गर्नुपर्ने माग पर्यटन व्यवसायीले गर्दै आएका थिए । त्यसअनुसार नेपालले चिनियाँ पर्यटकका लागि भिसा शुल्क नलिने निर्णय गरेको हो । नेपाल चीन सम्बन्धलाई अघि बढाउन शुल्क नलिने चीनको निर्णयले सहयोग गर्ने चिनियाँ अधिकारीले बताएका छन् । तर, सद्भाव सँगसँगै नेपाललाई चिनियाँ लगानी थप चाहिएको छ । जारी लगानी सम्मेलनमा सहभागी हुनेमा चीनको प्रतिनिधिमण्डलको संख्या धेरै छ । चिनियाँ कम्पनीबाट लगानी भित्त्याउन नेपालको निजीक्षेत्रले सहजीकरण गर्ने सम्बन्धमा दुईओटा समझदारी भएको छ । त्यस्तै चिनियाँ अधिकारीले चीनले अन्तरदेशीय प्रसारण लाइन बनाउने, रेलवे निर्माणसम्बन्धीमा अध्ययन बढाउनेजस्ता कार्य गरेर नेपालको विकासमा सहयोग गर्ने बताएका छन् ।
नेपालको उत्तरी चीनसँगको सम्बन्ध सुमधुर भए पनि समस्यारहित भने छैन । चीनसँग भाषाको समस्या भएकाले नेपालले आफ्ना कुरा सही ढंगले राख्न सकेको छैन । चिनियाँहरूले आफ्नो अनुकूलको विषय नभएमा कुरा नबुझेको अभिनय गर्ने गरेका छन् । यसको उदाहरण लामो समयदेखि बन्द रहेका उत्तरी सीमा नाका हुन् । चीनले विनाकारण आयात बन्द गर्ने गरेको छ भने नेपालबाट सामान निर्यात गर्न पनि अवरोध खडा गर्ने गरेको छ । त्यसैले चीनसँगको सम्बन्धमा नेपाल बढी सतर्क हुनुपर्ने देखिन्छ । यद्यपि नेपालको विकासमा चीन ठूलो साझेदार हो ।
नेपालको पूर्वाधार निर्माणका थुप्रै परियोजनामा चिनियाँ ठेकेदारहरूले काम गरिरहेका छन् । अन्य देशमा राम्रो र छिटो काम गर्ने भनी नाम कमाएकै कम्पनीले नेपालमा सही ढंगले काम गरेको छैन र भौतिक प्रगति निकै सुस्त छ । चीनको निर्माण कम्पनीले पाएको ठेक्कामा कुनै पनि काम समयमा सम्पन्न भएका छैनन् । यस्तोमा अहिले चीनले नि:शुल्क भिसाको नेपालको मागलाई सुनुवाइ गरेको छ ।
नेपाली कांग्रेससहितको गठबन्धनको सरकार बनेका बेला चीनसँग धेरै कुरा हुन सकेको थिएन । गठबन्धन परिवर्तन भएसँगै चीनले रोकिएका आयोजना अघि बढाउने संकेत दिएको छ । चक्रपथ विस्तारको दोस्रो चरणको कामदेखि अन्य काम धमाधम हुने संकेत मिलेको छ ।
परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण पनि त्यसको एउटा कडी हो । अहिले चीनले उत्तरका अन्य नाका पनि खोल्ने संकेत दिएको छ । त्यसैगरी रोकिएका शुरूङ मार्ग निर्माण सम्झौतालगायत काम पनि थाल्ने उसले संकेत गरेको छ ।
चीनसँगै भारतले पनि नेपालको विकासमा सहयोग गर्ने बताएको छ । यी सकारात्मक कुरा लगानी सम्मेलनका क्रममा आउनु पक्कै पनि सुखद संकेत हो । तैपनि नेपालले आफूलाई सबै देशसँग समदूरीमा राख्न आवश्यक छ र नेपालको विकास आयोजनामा सबै देशसँग सहयोग लिनु आवश्यक छ ।