नेपाली चियाको परीक्षण रिपोर्ट माग गरेपछि झन्डै २ हजार टन चिया भारतीय भन्सारमा अड्किएको छ । विगतमा २०/३० प्रतिशत परीक्षणको रिपोर्ट भए पुग्नेमा अहिले शतप्रतिशत परीक्षण गरेको रिपोर्ट माग गरे पछि चिया निर्यात रोकिएको हो । नेपालमा प्रयोगशाला नभएकाले चिया मात्रै होइन, अन्य कृषि उपजको निर्यातमा समेत यस्तै खालको अवरोध बेलाबेला हुने गरेको छ । भारत र चीन नेपालको सबैभन्दा ठूला व्यापारिक साझेदार भए पनि नेपाली वस्तुको निर्यातमा तिनले बारम्बार किचलो गर्ने गरेका छन् । यसमा कतिपय कमजोरी नेपालको पनि देखिन्छ भने कतिपय अवस्थामा उनीहरूको स्वार्थले काम गरेको देखिन्छ । एउटै मात्र बजारमा निर्भर हुनुपर्दा यस्तो समस्या दोहोरिइरहने भएकाले बजारको विविधीकरण गर्नु अनिवार्य देखिन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को चैत मसान्तसम्म २ अर्ब १८ करोड ८९ लाख २२ हजार )रुपैयाँ बराबरको ९ हजार ८ सय ३ मेट्रिक टन चिया निकासी भएको छ । ८० प्रतिशत चिया भारत निकासी भएको छ भने अन्य २० प्रतिशत चिया चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया, रसिया र खाडी मुलुक निर्यात भइरहेको छ । नेपालको चिया गुणस्तरीय मानिए पनि भारतले बेला बेलामा नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउने गरेको छ । खासगरी भारतीय उत्पादकको स्वार्थ रक्षा हुने गरी भन्सारले नेपाली चियामाथि व्यवहार गर्ने गरेको देखिन्छ । भारतमा चिया प्रशस्त उत्पादन भयो भने नेपाली चिया नलैजान विभिन्न बहाना खोज्ने गरिएको छ र मूल्य पनि कम दिने गरिएको छ । चियामात्र होइन, अलैंची र अदुवामा समेत बेलाबेलामा यस्तै व्यवहार गरेको पाइन्छ । नेपाली चियाको ठूलो बजार भारत नै हो । भारतले नेपालको चिया, अलैंची र अदुवा किनिदिएन वा उचित मूल्य दिएन भने नेपाली किसानहरू र व्यवसायीहरू ठूलो मर्कामा पर्ने अवस्था छ ।
नेपालमै विश्वले मान्यता दिने खालको प्रयोगशाला हुन्थ्यो भने चियाको परीक्षण गराउन कोलकातासम्म पुर्याउनुपर्ने थिएन । प्रयोगशालाकै अभावमा चीनमा कृषि उत्पादन र अन्य उत्पादन निर्यात गर्न पनि समस्या भइरहेको छ ।
अहिले भारतले उत्तरी भारतका सबै चिया सार्वजनिक अक्शनमा मार्फत बजारमा पठाउनुपर्ने नियमका आधारमा शतप्रतिशत परीक्षण प्रतिवेदन मागेको देखिन्छ । त्यसो गर्दा चियामा निश्चित गुणस्तर कायम गर्न सकिने र गुणस्तरअनुसार किसानले धेरै मूल्य पाउन सक्ने भएकाले यो नियम ल्याइएको भारतीय केन्द्रीय सरकारको भनाइ रहेको छ । तर, सबै चिया परीक्षण गर्न भारतको कोलकातासम्म नमूना लैजानुपर्ने र त्यहाँको रिपोर्ट आएपछि मात्र भन्सारले सामान छाड्ने गरेको कारण समयमै नेपाली चिया बजारमा जान पाउँदैन । यसका लागि १५ दिनजति समय लाग्ने व्यवसायीको भनाइ छ । १५ दिनको डिटेन्सन चार्ज तिर्नुपर्दा नेपाली चिया महँगो हुन्छ र भारतीय चियासँग प्रतिस्पर्धा गर्न सक्दैन । यी सबै समस्याको जड चिया निर्यातका लागि भारतीय बजारमै निर्भर हुनु पर्ने बाध्यता हो । त्यसैले नेपालले तेस्रो बजार खोज्नु जरुरी छ । अहिले चिनियाँ व्यापारीले नेपाली चियामा चासो देखाएका छन्, जुन सकारात्मक कुरा हो ।
हुन त नेपाली चिया यूरोप निर्यात नभएको होइन । तर, जसरी त्यहाँ भारतीय चियाको चर्चा छ नेपाली चियाको पाइँदैन । त्यसैले नेपाली चिया यूरोप निर्यातका लागि आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने देखिन्छ । अहिले कूटनीति भनेकै प्रमुख रूपमा आर्थिक विषय हो भन्ने मान्यता विश्वभरि नै स्थापित भएको अवस्थामा नेपाली कूटनीतिक क्षेत्रले व्यापारलाई उच्च प्राथमिकता दिएको पाइँदैन । अर्को, नेपालको आफ्नै कमजोरी पनि छ । कृषि उत्पादनको निर्यातका लागि प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । तर, नेपालले अहिलेसम्म अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्न सकेको छैन । नेपालमै विश्वले मान्यता दिने खालको प्रयोगशाला हुन्थ्यो भने चियाको परीक्षण गराउन कोलकातासम्म पुर्याउनुपर्ने थिएन । प्रयोगशालाकै अभावमा चीनमा कृषि उत्पादन र अन्य उत्पादन निर्यात गर्न पनि समस्या भइरहेको छ । त्यस्तै नेपालका किसानलाई विषादीरहित उत्पादन गर्न लगाउन पनि सकिएको छैन । अर्थोडक्स चियामा समेत विषादी भएको आशंकामा यूरोपमा निर्यात गर्न समस्या भइरहेको छ । विषादी प्रयोग गरेको भनी नेपाली चिया बदनाम गरिँदा त्यसको खण्डन गर्न र प्रमाणपत्र दिन नेपाल असमर्थ देखिएको छ । त्यसैले आफूले गर्ने कामसमेत सही भएमा निर्यातको सम्भावना बढ्छ ।