शुक्रवारबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम थालिएसँगै यहाँबाट भइरहेको अन्तरराष्ट्रिय उडान करीब ३० प्रतिशतले कटौती भएपछि हवाइ भाडादर अचाक्ली महँगिएको छ । हवाई टिकटको मागभन्दा आपूर्ति घटेकाले भाडा बढेको वायुसेवा सञ्चालकहरूले बताएका छन् । नेपाल आउने हवाई भाडा तुलनात्मक रूपमा पहिले नै महँगो भएकामा अहिले तेब्बरसम्म भाडा बढेपछि नेपालको पर्यटनमा गम्भीर असर पर्ने देखिएको छ । सरकारले भाडा बढ्न नदिनका लागि वायुसेवा सञ्चालकहरूसँग गरेको छलफलमा एकमुष्ट रूपमा टिकट विक्रीको अधिकार ट्राभल एजेन्सीलाई दिने व्यवस्था खारेज गर्ने निर्णय गरियो । तर, एजेन्सीहरूले टिकट लिइसकेकाले यसले टिकटको आपूर्ति र मूल्यमा केही प्रभाव परेन । सरकारले केही समय अघि नै यस्तो पहल गरेको भए अहिलेको जस्तो टिकटको मूल्य अचाक्ली नबढ्न सक्थ्यो । यसमा नागरिक उड्डयन प्राधिकरणको कमजोरी देखिन्छ । विमानस्थल विस्तार र सुधार कार्य नियमित जस्तै हो । बेलाबेलामा यस्तो भइरहन्छ जुन विगतमा पनि भएको थियो । सन् २०१९ मा यस्तै सुधार कार्यका लागि १० घण्टा नै विमानस्थल बन्द गरिएको थियो । तर, त्यति बेला यसरी भाडामा मनपरी भएको थिएन । प्राधिकरणको भनाइमा त्यति बेला वायुसेवा कम्पनीहरूले सहयोग गरेकाले केही समस्या आएन ।
यसपालि पनि १० घण्टा नै उडान बन्द गरिएको छ र भैरहवा विमानस्थल पनि विकल्प छ । त्यसो हुँदा अहिले जसरी हवाइ भाडा बढाइएको छ त्यसमा वायुसेवा कम्पनी वा एजेन्टहरूको बठ्याइँ हो भन्ने देखिन्छ । प्राधिकरणले ९ महीनाअघि नै वायु सेवा कम्पनीहरूसँग छलफल गरेको र छ महीनाअघि नै स्लट कटौती सम्बन्धमा जानकारी दिएको बताएको छ । यसरी उडान कटौती गरेपछि हवाई भाडा बढ्ने सम्भावनालाई प्राधिकरणले आकलन गर्न नसकेको देखिन्छ । मागभन्दा आपूर्ति कम भएपछि मूल्य बढ्नु स्वाभाविकै पनि हो । तर, त्यसमा वायुसेवा कम्पनीहरूले मिलोमतो गरेको हो कि भन्ने आशंका गरिएको छ । हुन त हवाई टिकटको मूल्य इन्धन, दूरी र टिकटको मागले निर्धारण गर्छ । खासमा भन्ने हो भन्ने उच्च एल्गोरिदम प्रयोग भएका सफ्टवेयरबाट नै मूल्यमा तलमाथि हुने गर्छ । नेपालको अहिलेको सन्दर्भमा यसो नभई एजेन्सीहरूले टिकट बुक गरेर राखेको र बढी मूल्य लिएको अनुमान छ । यसलाई रोक्न एकमुष्ट टिकट लिने व्यवस्था खारेज गरिएको छ र यसको प्रभाव पर्न केही समय लाग्न सक्छ । प्राधिकरणले यसरी मूल्य बढ्ने सम्भावनाबारे सचेत भएर पहिल्यै यो व्यवस्था खारेज गरेको भए शायद यसरी मूल्य बढ्ने थिएन । अहिले प्राधिकरण वा सरकार जसरी टिकटको मूल्य बढ्न नदिन लागिपरेको छ त्यो काम गर्न ढिला भएको पक्कै हो । अर्थात् प्राधिकरण नेतृत्वले सम्भावित असरबारे गृहकार्य नगरेका कारण नै अहिले समस्या बढेको हो भन्ने देखिन्छ ।
अहिले सरकारले त्रिभुवन विमानस्थल १० घण्टा बन्दलाई भैरहवा विमानस्थलबाट उडान बढाउने अवसरका रूपमा लिएको छ । उसले एक किसिमले वायुसेवा कम्पनीहरूलाई दबाब नै दिएको देखिन्छ । त्यसैले अहिले चारओटा कम्पनीहरू भैरहवाबाट सेवा दिन तयार देखिएका छन् । यसका लागि पनि काम गर्न ढिला भएकै हो । ६ महीनाअघि वायुसेवा कम्पनीहरूसँग भएको छलफलमा भैरहवा जाँदा पाइने छूट आदि बारे स्पष्ट नीति लिएको भए पनि अहिलेको समस्या कम हुने थियो भन्ने देखिन्छ । त्यसैले विमानस्थल बन्दको समयमा केही चलखेल भएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न अहिले प्राधिकरणले काम नगरेको पनि होइन तर यसमा ढिलाइ हुँदा पर्यटन व्यवसायमा गम्भीर असर पर्ने देखिन्छ । अघिल्लो पटक चैत महीनाबाट सुधारका काम थालिएको थियो । अहिले पनि त्यस्तै गरेको भए यो समस्या केही कम हुने थियो भन्ने देखिन्छ ।