काठमाडौं–तराई द्रुतमार्ग (फाष्टट्र्याक) मा लगानी गर्न चार विदेशी कम्पनी इच्छुक देखिएका छन् । भारतका रिलाएन्स इन्फ्राष्ट्रक्चर लिमिटेड, आईएल एण्ड एफएसट्रान्सपोर्टेशन नेटवक्र्स लिमिटेड र एल एण्ड टी इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट प्रोजेक्ट तथा कोरियाको कोनेको प्रालिले आशयपत्र पेश गरेका हुन् ।
‘शुरूमा धेरै स्वदेशी तथा केही विदेशी कम्पनीले लगानीका लागि इच्छा देखाएको भए पनि हालसम्म चार कम्पनीले मात्र आशयपत्र पेश गरेका छन्,’ फाष्टट्र्याक आयोजनाका पूर्वप्रमुख दिनेशप्रकाश बस्नेतले भने, ‘आशयपत्र पेश गर्ने समय अझै बाँकी भए पनि थप कम्पनी आउने सम्भावना कम छ ।’ हालसम्म आशयपत्र पेश गरेका सबै कम्पनी अन्तरराष्ट्रियस्तरका भएको उनको भनाइ छ ।
आशयपत्र पेश गरेकामध्ये उत्कृष्ट ६ ओटा कम्पनीलाई दोस्रो चरणको प्रतिस्पर्धा गराइने आयोजनाले बताएको छ । ‘अहिलेसम्मको स्थिति हेर्दा ६ ओटा कम्पनी नै पुग्ने देखिँदैन,’ बस्नेतले भने । सयमध्ये ६० प्रतिशत अङ्क आर्थिक तथा प्राविधिक र ४० प्रतिशत डिजाइनलाई आधार मानिने उनले जानकारी दिए । यसले आयोजना निर्माणका लागि उत्कृष्ट तथा दक्ष कम्पनी छनोट गर्न सहज हुने उनले बताए ।
लागत खर्च धेरै भएकाले पनि नेपाली कम्पनीले यसमा लगानी गर्न नसकेको उनको भनाइ छ । कुल ७८ किलोमिटरको उक्त आयोजनाको अनुमानित लागत रू. ७० अर्ब छ । आयोजना बूट (निर्माण, सञ्चालन र हस्तान्तरण) मोडेलमा निर्माण हुनेछ ।
वर्ष ७, अंक ३४०, बुधवार ६ भदौ, २०६९