काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १२ दशमलव १० अंक घटेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार ७२७ दशमलव ३६ विन्दुमा झरेको हो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. १२ अर्ब ९५ करोड बराबरको कारोबार भएकोमा आज रू. ९ अर्ब ६५ करोडमा झरेको छ । पछिल्लो दुई दिनमै नेप्से १०२ अंक घटेको छ ।
यसले लगानीकर्ता बजारप्रति विश्वस्त नभएको देखिएको जानकार बताउँछन् । बजार घट्दा खरीदकर्ता आकर्षित भएपनि बजार बढ्न थालेपछि विक्रेता बढी हाबी हुन थालेका छन् ।
पछिल्लो केही दिनयता कारोबार रकम पनि दिनहुँ घट्दो छ । बजार घटिरहँदा खरीदकर्तामा अन्योल देखिनु र लगानीकर्ताको सक्रियता कम हुनुले कारोबार रकम घट्न थालेको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत घटेको छ ।
आज ३१६ धितोपत्रको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर १ लाख १२ हजार ६९२ पटकमा रू. ९ अर्ब ६५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५ हजार १७० पुगेको छ । त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशलमव १४ प्रतिशत बढेर रू. २ हजार ७८३ पुगेको छ ।
बिहीवार नेपाल फाइनान्सका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ९१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५०३ मा झरेको छ । त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ५ दशमलव ७७ प्रतिशत घटेर रू. ६४० कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले आगेटेको छ । यस कम्पनीको रू. ४० करोड ५० लाख बराबरको कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. ३४ करोड २२ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये लघुवित्त समूहको सूचक सबैभन्दा बढी १ दशलमव ६८ प्रतिशत वृद्धि भएको छ भने लगानी समूहको सूचक सबैभन्दा बढी १ दशलमव ३६ प्रतिशत घटेको छ ।