काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा अर्थात् एक वर्षमा रू. ६८ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २ दशमलव ७३ प्रतिशत कम हो । सो अवधिमा कम्पनीले रू. ७० करोड ५० लाख नाफा कमाएको थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी ३ दशमलव ९० प्रतिशत घटेको छ । सोही कारण कम्पनीको नाफा घटेको हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी रू. २ अर्ब ६३ करोड रहेकोमा गत आवमा घटेर रू. २ अर्ब ५२ करोडमा झरेको हो ।
त्यस्तै कम्पनीको कुल बीमाशुल्क अघिल्लो आवमा रू. ३ अर्ब ३ करोडभन्दा बढी रहेकोमा गत आवमा घटेर रू. २ अर्ब ९५ करोडमा झरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ३ पैसा रहेकोमा गत आवमा ३४ रुपैयाँ ७ पैसामा झरेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड छ । त्यस्तै गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले स्पेशल रिजर्भमा रू. २ अर्ब ९ करोड, महाविपत्ति कोषमा रू. १४ करोड ५५ लाख र रिटेन्ड अर्निङमा रू. ५६ करोड ७८ लाख सञ्चिति गरेको छ ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ७२ रुपैयाँ ८१ पैसा छ ।