काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) तीन कम्पनीको शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाईटेड इदी मर्दी एण्ड आर.बि हाइड्रोपावर र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो ।
समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२० दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै युनाइटेड इदी मर्दीको २ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत फागुन १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरबापतको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर सूचीकृत गराएको हो ।
कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन नसकेपछि वैशाख १० गतेदेखि २४ गतेसम्म लिलामीमा विक्री गरेको हो ।
१ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको कम्पनीको हाल ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ चुक्ता पूँजी कायम भएको छ ।
यस कम्पनीले ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ चैत १२ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।