काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबर्द्धक रहेको एनआईबिएल प्रगति फण्ड खारेजी प्रक्रियामा गएको छ । गत पुस २६ गते परिपक्व भएसँगै योजना खारेजी प्रक्रियामा गएको हो ।
खारेजी प्रक्रियाका क्रममा योजनाको स्वामित्वमा रहेको लगानीलाई तीन महीनाभित्र नगदमा परिणत गरी ईकाइधनीलाई फिर्ता भुक्तानी गर्नेछ । सोही क्रममा तीन कम्पनीको सूचीकृत हुन बाँकी बोनस र हकप्रद शेयर लिलामी फ्रक्रियामा वित्री गर्न योजनाले सूचना जारी गरेको छ ।
समता लघुवित्त वित्तीय संस्थाको ३६८ कित्ता हकप्रद शेयर, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ हजार ९३४ किक्ता बोनस शेयर र नेरुडे लघुवित्तको २० हजार ११८ कित्ता मर्जरका कारण रोक्का रहेको शेयर लिलामीमा विक्री गर्न कम्पनीले सूचना जारी गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा विक्रीमा राखिएका यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । शेयर खरीदका लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिने व्यवस्था छ ।
इच्छुक खरीदकर्ताले वैशाख २४ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २५ गतेभित्र विक्री प्रबन्धकको कार्यालयमा पेस गर्नुपर्नेछ । यस योजना व्यवस्थापकमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ ।