नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्न स्वीकृति दिएको छ । कम्पनीले साताको सातै दिन उडानका लागि अनुमति मागेमध्ये ४ ओटा उडान गौतमबुद्ध र ३ ओटा उडान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्न प्राधिकरणले स्वीकृति दिएको हो । लामो समयदेखि अन्तरराष्ट्रिय उडान नभएर प्रयोगविहीन जस्तो बनेको गौतमबुद्ध विमानस्थल सञ्चालन हुने आशा यसले जगाएको छ । तर, अहिले स्वीकृति लिए पनि सञ्चालनका लागि अन्य अवस्था अनुकूल भएन भने उसले उडान बन्द गर्न सक्छ । त्यसैले सरकारले यो विमानस्थल सञ्चालनका लागि हदैसम्म लचिलो बन्नुपर्छ र सकेसम्म सहजीकरण गरिदिनुपर्छ ।
त्रिभुवन विमानस्थल आगामी कात्तिक १६ गतेदेखि दिनको १० घण्टा बन्द हुने भएको छ । विस्तारको काम भइरहेकाले यस समयमा उडान बन्द गर्नुपर्ने बाध्यता छ । यो अवस्थामा काठमाडौंबाट उडान अवतरण गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवातर्फ जान प्रोत्साहित गर्नुपर्छ । यसरी विमानस्थल सञ्चालनमा आउन थालेपछि थप वायु सेवा कम्पनीहरू पनि यहाँबाट उडान थाल्न प्रोत्साहित हुन सक्छन् ।
विगतमा जजिरा एयरले भैरहवाबाट उडान सेवा दिए पनि यात्रु नपाएपछि र मुनाफा हुन नसक्ने देखेपछि उसले सेवा नै बन्द गर्यो । उसले यसरी सेवा बन्द गर्नुमा सरकारको कमजोरी एउटा कारण भन्न सकिन्छ । वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी उडान शुरू गरिए पनि उनीहरूले कागजी प्रक्रियाका लागि काठमाडौं आउनुपर्ने बाध्यता भयो । काठमाडौं आइसकेपछि भैरहवा जानु अर्थ भएन । त्यही भएर त्यहाँबाट जजिराले पर्याप्त यात्रु पाउन नसकेको देखिन्छ । त्यसैले अब सरकारले अन्तरराष्ट्रिय विमानस्थलमा जेजस्ता सरकारी सेवा आवश्यक छन् ती सबै त्यहाँ उपलब्ध गराउनु आवश्यक छ । अर्थात्, काठमाडौंसम्म आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ ।
त्यस्तै भारतबाट सिधै पश्चिम नेपाल छिर्न उसले स्वीकृति नदिएकाले सिमरा आएर भैरहवा जानुपर्दा वायुसेवा कम्पनीहरूको लागत बढ्छ । त्यसो हुँदा त्यहाँबाट उड्ने विमानहरूका लागि सरकारले त्यहाँ लाग्ने विभिन्न शुल्क छूट दिनुपर्छ र केही समयका लागि नि:शुल्क गरिदिए पनि हुन्छ । विमानस्थल उपयोगविहीन हुँदा त्यहाँका भौतिक संरचना बिग्रने सम्भावना बढी हुन्छ । तिनलाई सञ्चालन गराउनकै लागि भए पनि वायुसेवा सञ्चालन हुन आवश्यक छ ।
अहिले जजिरा र बिज एयरले पनि भैरहवाबाट उडान लागि रुचि देखाएका छन् तर त्यसका लागि उनीहरूले कर छुट दिन माग गरेको समाचार आएको छ । उनीहरूले भ्याट र इन्धनमा लगाएको कर छुटको माग गरेको भन्ने समाचार आएको छ । उनीहरूको मागलाई सम्बोधन गर्न सक्नुपर्छ । एयर इन्डिया एक्सप्रेसले पनि उडानका लागि चासो देखाएको छ भन्ने नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको भनाइ छ । त्यसो हो भने त्यसलाई सकेसम्म छूट दिन हिचकिचाउनु हुँदैन ।
विमानस्थल सञ्चालनका लागि केही लचिलो बन्नु जरुरी छ । खासगरी भारतीय कम्पनीले उडानसेवा दिन तयार छ भने उसका धेरैजसो आर्थिक शर्त मान्दा समस्या हुने देखिँदैन । भारतीय कम्पनीले उडान गर्नुको अर्थ कूटनीतिक हुन्छ । त्यसले भारतका अन्य कम्पनीलाई पनि भैरहवा उडानका लागि प्रेरित गर्छ । त्यसले श्रीलंकाको वायु सेवा कम्पनीलाई पनि भैरहवामा उडान गर्न प्रेरित गर्छ । श्रीलंकाबाट धेरै बौद्ध धर्मावलम्बीहरू लुम्बिनीमा आउने गरेका छन् । अहिले उनीहरू भारत हुँदै भारतीय सीमाबाट नेपाल छिर्छन् । कोलम्बोबाट सिधा उडान भएमा त्यहाँबाट बौद्ध धर्मावलम्बी पर्यटक आउने देखिन्छ । त्यसपछि चिनियाँ वायु सेवा कम्पनीलाई पनि आकर्षित गर्न सकिन्छ ।
त्यसैले भैरहवा विमानस्थल जसरी पनि सञ्चालनमा आउनुपर्छ । विमानस्थल बनेपछि पर्यटक बढ्छन् भनेर होटलमा लगानी गरेका थुप्रै व्यवसायी अहिले निकै निराश छन् । यो विमानस्थल सञ्चालनमा ल्याउन सकिए मुलुकले पाउने लाभ थुप्रै छ । त्यसैले जेजति छूट र सुविधा दिन सकिन्छ ती सबै उपाय गरेर यसलाई सञ्चालनमा ल्याउन सरकार उदारै बन्नै पर्छ । विमानस्थलमा पर्याप्त उडान हुन थालेपछि भने विस्तारै शुल्कहरू लिँदा हुन्छ ।