काठमाडौं । घाटामै रहे पनि एक दर्जन विकास बैंक तथा वित्त कम्पनीको शेयर मूल्य उच्च देखिन्छ । सामान्यतया घाटामा रहेका कम्पनीको शेयर मूल्य पनि कम हुने अपेक्षा गरिन्छ । तर, कम्पनी घाटामा रहेको वित्तीय विवरण सार्वजनिक भए पनि केही संस्थाको शेयर मूल्यमा दिनदिनै जसो उछाल आएको देखिन्छ ।
चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १२ ओटा विकास बैंक र वित्त कम्पनी घाटामा छन् । तीमध्ये केही विगतदेखि नै घाटामा चल्दै आएका थिए, केही पहिलोपटक घाटामा गएका हुन् ।उदाहरणको लागि सप्तकोशी
डेभलपमेन्ट बैंकको चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनी घाटामा छ । गत आवको यही अवधिमा पनि बैंक घाटामै थियो । यसको प्रतिशेयर आम्दानी ऋणात्मक छ र खराब कर्जाको अंश पनि १२ दशमलव ४ प्रतिशत छ । तर, मंगलवार बजार बन्द हुँदा यसको प्रतिकित्ता शेयर मूल्य ३३८ रुपैयाँ छ ।
पोखरा फाइनान्स चालू आवको तेस्रो त्रैमाससम्म १७ करोड २३ लाख रुपैयाँ घाटामा छ । गत आवको तेस्रो त्रैमाससम्म यो फाइनान्स ३ करोड ५७ लाख रुपैयाँ नाफामा थियो । यसको पछिल्लो प्रतिशेयर मूल्य ६७९ रुपैयाँ छ ।
कम पूँजी र कम संख्या रहेका कम्पनीको शेयर समूह नै बनाएर खरीद गर्ने प्रवृत्ति केही लगानीकर्तामा देखिएका कारण केही घाटामै रहेका कम्पनीको शेयरको मूल्य पनि अस्वाभाविक रूपमा बढेको अनुभवी लगानीकर्ता डमरुवल्लभ घिमिरेले बताए ।
शेयरबजारमा कोही लगानीकर्ताले कमाउनु र अर्कोले गुमाउनु सामान्य कुरा नै हो । तर, लामो समय लाभांश दिने अवस्थामा नभएका कम्पनीको शेयर मूल्य के कारणले बढ्यो त्यो विचार गर्नु आवश्यक रहेको घिमिरेको भनाइ छ ।
राम्रो कम्पनीको शेयरमा गरेको लगानी डुब्ने सम्भावना कम हुने उनले लगानीकर्तालाई सुझाव दिए । आफूमात्र नाफा कमाउने उद्देश्यले सक्रिय समूहको लोभ लालचमा नपरी कम्पनीको वास्तविक अवस्था बुझेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ ।
सामान्यतया सूचीकृत कम्पनीको वित्तीय स्वास्थ्य, नाफा–नोक्सानको अवस्था, शेयर मूल्य र प्रतिशेयर आम्दानीको अनुपात, लगानीकर्ताको मनोबल, वित्तीय प्रणालीमा तरलताको उपलब्धता, बैंकहरूको ब्याजदरलगायत आधारमा दोस्रो बजारमा शेयर मूल्य घटबढ हुने गर्छ । यी सबै कुरा नकारात्मक रहेकै अवस्थामा मूल्य माथि पुगेकाले त्यसलाई अस्वाभाविक मानिएको हो । पछिल्लो समय लगानीकर्ताले वित्तीय अवस्थाभन्दा पनि कसरी तत्काल लाभ लिन सकिन्छ भनेर लगानी गर्दा वित्तीय स्वास्थ्य राम्रो नरहेका कम्पनीहरूको शेयर बढ्ने गरेको जानकार बताउँछन् । कुनै कम्पनी अहिले घाटामा भए पनि पछि राम्रो गर्न सक्छ भने सोचाइका आधारमा पनि त्यस्ता कम्पनीमा लगानी गर्नेे प्रवृत्ति रहेको लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दा आम्दानीमा असर परेको छ । आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा नाफामा दबाब परेको छ । आर्थिक मन्दी, सुस्त व्यापार, कर्जाको माग कम हुनुलगायत कारणले बैंक, वित्तीय संस्थाको वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन । ‘नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त संस्था तत्काल घाटामा रहे पनि दीर्घकालमा राम्रो गर्न सक्छ भन्ने ठानेर पनि लगानीकर्ताले लगानी गर्ने गरेका छन्,’ अग्रवालले भने ।