काठमाडौं । बुधवार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४ दशमलव ४३ अंक घटेर २ हजार ६७७ दशमलव ६२ विन्दुमा बन्द भएको छ । यो दिन २ हजार ६९३ दशमलव ८१ विन्दुदेखि खुला भएको बजार २ हजार ७०५ दशमलव २४ विन्दुसम्म पुगेको थियो भने २ हजार ६७१ दशमलव ३० विन्दुमा झरेको थियो । घटेको बजारमा ७५ कम्पनीको धितोपत्र मूल्य बढ्दा आधा दर्जन कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ ।
यो दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९ दशमलव ९८ प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत र एक्सेल डेभपमेन्ट बैंकको शेयर मूल्य पनि ९ दशमलव ९२ प्रतिशत बढेको छ ।
यस दिन जानकी फाइनान्स कम्पनीको शेयर मूल्य भने सर्वाधिक ४ दशमलव ९० प्रतिशत घटेको छ । यस कम्पनीको अन्तिम शेयर मूल्य ७५० रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको ९ करोड २ लाख ६५ हजार रुपैयाँभन्दा बढीको १ लाख १८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
बुधवार ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिनभन्दा बुधवार नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको हो । अघिल्लो दिन ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँभन्दा बढीको १ करोड ३३ लाख ७३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको बजार बुधवार भने प्रोफिट बुकका कारण प्रभावित बनेको ब्रोकरहरूले जानकारी दिएका छन् । अल्पकालीन लगानीकर्ता सक्रिय रहेको हालको अवस्थामा एक दुई दिन बजार बढेपछि नै नाफा बुक गर्ने परिपाटी रहेकाले त्यसकै असर बुधवारको बजारमा पनि देखिएको ब्रोकरहरूको बुझाइ छ ।
बुधवार कुल कारोबारमा सर्वाधिक हिस्सा सिईडिबि हाईड्रोपावरले ओगटेको छ । यस कम्पनीको ३४ करोड १७ लाख ९७ हजार रुपैयाँभन्दा बढीको २ लाख ७८१ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य २ दशमलव १३ प्रतिशत घटेको छ । प्रतिकित्ता ३६ रुपैयाँ ८० पैसा मूल्य घटेर यस कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता १ हजार ६९२ रुपैयाँ कायम भएको हो ।
नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५१ प्रतिशत घटेको छ । त्यस्तै, फ्लोट इन्डेक्स शून्य दशमलव ६१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत घटेको छ ।
यो दिन तीन समूहगत परिसूचकहरू बढेका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक २ दशमलव ५२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ३२ प्रतिशत बढेको हो ।
बैंकिङ समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको यस दिन विकास बैंकको शून्य दशमलव ४३ प्रतिशत, वित्तको १ दशमलव शून्य १ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३३ प्रतिशत, लगानीको १ दशमलव ४१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९६ प्रतिशत, लघुवित्तको शून्य दशमलव १४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७२ प्रतिशत र अन्यको शून्य दशमलव ७४ प्रतिशत परिसूचक घटेको हो ।