फागुन २५, काठमाडौं । नेता गणेशमान सिंहका विभिन्न ऐतिहासिक तस्वीरको साताव्यापी प्रदर्शनी सोमवारदेखि शुरू भएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालको संयोजनमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा गरिएको प्रदर्शनीमा सिंहको बाल्यकालदेखि राजनीतिक यात्रासम्मका विभिन्न तस्वीर राखिएको छ । नेपालमा निरङ्कुश राणाशासन हुँदै पञ्चायती व्यवस्थाविरुद्ध कठिन सङ्घर्ष गरेका सिंहले निरङ्कुशताका विरुद्धमा जेलसमेत तोडेर हिँडेको घटनाको वर्तमान राजनीतिमा पनि उत्तिकै चासो र चर्चाको विषय बनेको छ । प्रदर्शनीमा राखिएको २००१ साल असार १७ गते शुक्रवार गोरखापत्र अर्धसाप्ताहिकमा छापिएको इस्तिहारको तस्वीर त्यहाँको आकर्षण बनेको छ ।
प्रदर्शनीमा जेलबाट भागेपछि २००७ सालमा पक्राउ परेका सिंहको तत्कालीन पत्रिकामा छापिएको ‘मशहूर फेरार गिरफ्तार भयो’ शीर्षकको समाचारको तस्वीर पनि राखिएको छ । ३ सय ५० भन्दा बढी तस्वीर रहेको प्रदर्शनीमा २०१८ मङ्सिर २० मा सुन्दरीजल जेलबाट मङ्गलादेवीलाई थर्मस, जुत्ता र मोजा ल्याइदिन लेखिएको पत्रसहित विभिन्न मितिमा जेलबाट घरमा लेखेका पत्रका फोटा समावेश गरिएको छ । गणेशमान सिंहको बाल्यकालदेखि विभिन्न स्वदेशी तथा विदेशी नेताहरूसँगको भेटघाट, विभिन्न जिल्लाको भ्रमण राजनीतिक भेटघाट हुँदै मृत्युपछिका अन्तिम संस्कारका घटनालाई तस्वीरमा उतारिएको छ । रासस
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.