काठमाडौं । गत साताको कारोबारलाई हेर्दा धितोपत्र दोस्रो बजार सम्हालिन खोजेको अनुमान लगाउन सकिन्छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक शून्य दशमलव ८१ प्रतिशत अर्थात २२ दशमलव २१ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ७४९ दशमलव ५७ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन २ हजार ७२७ दशमलव ३६ विन्दुमा बन्द भएको हो ।
गत साता पाँच कारोबार दिन बजार खुला भएको छ । पाँच कारोबार दिनमा दुई दिन बजार बढेको छ भने तीन दिन घटेको छ । पहिलो कारोबार दिन ५३ दशमलव ६३ अंक घटको बजार दोस्रो दिन १२७ दशमलव ३२ अंक र तेस्रो दिन ६ दशमलव ९४ अंक बढेको थियो । चौथो दिन ९० दशमलव ७३ अंक घटेको बजार अन्तिम पाँचौ कारोबार दिन १२ दशमलव १० अंक घटेर बन्द भएको हो । यतिबेला बजार घट्नुपर्ने कुनै कारण नभएपनि चाडबाड नजिकिएसँगै नाफामा रहेका लगानीकर्ताले भने नाफा बुक गरेको ब्रोकरहरू बताउँछन् ।
दीर्घकालिन रुपमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा कम देखिन्छ एक ब्रोकरले भने लगानीयोग्य पूँजी पर्याप्त छ , सहज रुपमा कर्जा पाउने अवस्था छ , यो अवस्थामा लगानीकर्ता कम उत्साहित हुनु भनेको बजारप्रतिको विश्वास कम हुनु हो । ब्रोकरहरू भने बजार अझै माथि जानेमा विश्वस्त देखिन्छन् । मुख्य कुरा त वित्तीय प्रणालीमा पर्याप्त तरलता छ । अहिले बैंकमा पैसा राखेर ब्याज खाने अवस्था नभएकाले पनि पूँजीबजारनै लगानीको लागि प्रभावकारी ब्रोकरहरूले ठानेका छन् ।
गत साता पाँच कारोबार दिन बजार खुला भएपछि कारोबार रकम भने अघिल्लो साता चार कारोबार दिनभन्दा कम भएको छ । अघिल्लो साता चार कारोबार दिनमा ६४ अर्ब ३६ करोड १० लाख ९६ हजार रुपैयाँभन्दा बढीको १४ करोड ९९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता पाँच कारोबार दिनमा ५९ अर्ब ७७ करोड ६६ लाख २० हजार रुपैयाँभन्दा बढीको १३ करोड ५० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत सात कारोबार रकम ७ दशमलव १२ प्रतिशत र कारोबार कित्ता करिब १० प्रतिशत घटेको हो ।
औसतमा पनि कारोबार रकम र कित्ता दुबै कम भएको छ । अघिल्लो साता औसतमा १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको ३ करोड ७४ लाख ७७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा गत साता ११ अर्ब ९५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको २ करोड ७० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसत कारोबार रकम गत साता अघिल्लो साताभन्दा करिब २६ प्रतिशत र कारोबार कित्ता करिब २८ प्रतिशत घटेको हो ।
बजार २ हजार ७०० विन्दु माथिनै रहेको अवस्थामा कुल बजार पूँजीकरण ४३ खर्ब ३६ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो साताको तुलनामा गत सात कुल बजार पूँजीकरण ३० अर्ब ३८ करोड ६५ लाख रुपैयाँले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
सातागत परिसूचकको तुलना | ||||
विवरण | गत साता | अघिल्लो साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,727.36 | 2,749.57 | -22.21 | -0.81 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 486.35 | 489.79 | -3.44 | -0.7 |
कारोबार रकम (रू. हजारमा) | 59,776,620.90 | 64,361,096.73 | -4,584,475.83 | -7.12 |
कारोबार कित्ता | 135,014,558.00 | 149,908,895.00 | -14,894,337.00 | -9.94 |
औसत कारोबार रकम (रू. हजारमा) | 11,955,324.18 | 16,090,274.18 | -4,134,950.00 | -25.7 |
औसत कारोबार कित्ता | 27,002,911.60 | 37,477,223.75 | -10,474,312.15 | -27.95 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,336,499.48 | 4,366,886.05 | -30,386.57 | -0.7 |
गत साता निर्जीवन बीमा समूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि
गत साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको अवस्थामा चार समूहगत परिसूचक भने बढेका छन् । गत साता निर्जीवन बीमा समूहको ५ दशमलव शून्य ३ प्रतिशत, लघुवित्त समूह २ दशमलव शून्य ६ प्रतिशत, विकास बैंक समूह १ दशमलव ८८ प्रतिशत र जीवन बीमा समूह शून्य दशमलव ८२ प्रतिशत बढको हो । गत साता निर्जीवन बीमा समूहका लगानीकर्ता बजार घट्दा पनि निरास नभएको अवस्था छ ।
वित्त समूहको परिसूचक भने गत साता सर्वाधिक ३ दशमलव २६ प्रतिशत घटेको छ त्यस्तै जलविद्युतको २ दशमलव ३७ प्रतिशत, बैंकिङको २ दशमलव ३० प्रतिशत , होटल तथा पर्यटनको २ दशमलव २४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ५९ प्रतिशत, लगानीको १ दशमलव २९ प्रतिशत, अन्यको १ दशमलव शून्य ४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३२ प्रतिशत परिसूचक घटेको छ । निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको गत साता वित्त समूहका लगानीकर्ताले भने सर्वाधिक गुमाएका हुन ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन | |||
विवरण | गत साता | अघिल्लो साता | फरक प्रतिशत |
निर्जीवन बीमा | 13,768.42 | 13,108.97 | 5.03 |
लघुवित्त | 5,212.40 | 5,107.24 | 2.06 |
विकास बैंक | 5,538.25 | 5,436.27 | 1.88 |
जीवन बीमा | 13,596.61 | 13,486.03 | 0.82 |
म्युचुअल फण्ड | 21.9 | 21.97 | -0.32 |
व्यापार | 3,759.43 | 3,772.09 | -0.34 |
अन्य | 2,079.70 | 2,101.49 | -1.04 |
लगानी | 109.91 | 111.35 | -1.29 |
उत्पादन तथा प्रशोधन | 7,179.87 | 7,295.83 | -1.59 |
होटल तथा पर्यटन | 6,995.60 | 7,155.68 | -2.24 |
बैंकिङ्ग | 1,523.94 | 1,559.76 | -2.3 |
जलविद्युत् | 3,338.17 | 3,419.34 | -2.37 |
वित्त | 3,443.86 | 3,559.94 | -3.26 |