काठमाडौं। अलेफ ग्रुपअन्तर्गतको ‘मेडियम वाई अलेफ’ कम्पनी नेपालका लागि गुगलको आधिकारिक विक्रेता बनेको छ । गुगलको आधिकारिक विक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्ने बताइएको छ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इञ्जिन, युट्युव र डिस्प्लेलगायतका सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
मेडियम वाई अलेफ बंगलादेश, मोरक्को र इराकमा गुगल एडको आधिकारिक विक्रेताका रूपमा काम गरिरहेको कम्पनीको भनाइ छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अल्वर्टो अल्भारेजले गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ अस्त्र भएको बताए । यस अस्त्रमार्फत विज्ञापनदाताले गुगल सर्च टुल्सको प्रयोग गरी विभिन्न प्रकारका डेटा संकलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्नमार्फत प्रयोगकर्तासम्म पुग्न र प्रक्रियामा संलग्न गराउन सक्न उनले बताए ।