हालै हेटौंडा उपमहानगरपालिकाले ‘गुन्द्रुक’को प्रडक्टलाई गुणस्तरसहितको सरकारी मान्यता दिएको खबरले यो लेखकलाई केही लेख्ने हुट्हुटी लाग्यो । खासमा भन्ने हो भने गुन्द्रुक हाम्रो मौलिक राष्ट्रिय पहिचान बोकेको तरकारी परिकारकै एक अभिन्न प्रडक्ट हो । यसमा हाम्रो परम्परा मात्र होइन, नेपाली संस्कार र संस्कृति पनि जोडिएको छ । गुन्द्रुकको अचार होस् वा झोल नेपाली खानामा यसको आफ्नै विशिष्टता पनि छ । कहिलेकाहीँ धेरै लामो समयसम्म अन्य तरकारी खाइरहँदाको दिग्दारी हटाउन होस् वा माछामासु आदिले भान्सामा सधैं एकछत्र राज गरिरहेका बेला फरक स्वाद परिवर्तनको चाहना पूरा गर्न नै किन नहोस् गुन्द्रुकको स्वादले अर्कै एपेटाइजरको कामसमेत गर्ने त हामी सबैले अनुभव गरेकै कुरा हो ।
गुन्द्रुकको तात्तातो झोल वा सुपले एपेटाइजरको काम त गर्छ नै तर हामी अधिकांशले गुन्द्रुकको तरकारी पनि के तरकारी ? भनेर नाक खुम्च्याउने गर्दै आएको अर्को यथार्थ पनि हुँदै हो । खासगरेर, पाहुनापासा गएका समयमा गुन्द्रुकको तरकारीको उपस्थितिलाई हामी धेरैले गुन्द्रुकेको संज्ञा दिन पनि पछि पर्दैनौं । वास्तवमा त्यो उचित होइन । थकाली खानामा गुन्द्रुकको अचारको अनिवार्य उपस्थिति देखिन्छ । र, त्यो खाना नै अहिले नेपाली खानाको पहिचान बनेर उभिएको पनि छ ।
गुन्द्रुक बनाउने तौरतरीका पनि नेपालीहरूको आफ्नै परम्परागत र मौलिक छ । त्यसलाई कुनै ठूलो लागत वा प्रविधि आवश्यक परोइन । सौर्य शक्तिको छेलोखेलो उपस्थिति रहेका बेला त्यसलाई सुकाएर राख्ने प्रविधिमा पनि खासै खर्च हुँदैन ।
पहाडतिर, तराईमा भन्दा भुटेको मकै भटमास र साँदेको गुन्द्रुकको अचार नेपाली मौलिक खाजाकै एक बलिष्ठ रूप हो । गुन्द्रुकलाई कतिपयले हेय तरकारीका रूपमा लिने मनोवृत्तिको विकास भएको पनि देखिएकै हो । तर, पिज्जा वा हटडग आदिको पश्चिमी संस्कारले हाम्रो खाजाका बान्कीमा राज गरिरहेका बेला हाम्रो मौलिकता गाँसिएको चटामरी वा आलुका अनेकथरी परिकार (पाल्पाको चुकाउनी र मुस्तांगी आलुजस्ता) हरू ओझेलमा पर्नु अन्यथा होइन । तर, हाम्रा मौलिक खाना र खाजाका परिकारहरूलाई राष्ट्रिय पहिचान दिएर तिनको बजारीकरणलगायत अन्तरराष्ट्रिय बजारमा समेत लैजाने प्रयास भने भइरहेको देखिएन । यसै प्रसंगमा हेटौंडा उपमहानगरपालिकाको उपर्युक्त प्रयास, सानै स्तरको किन नहोस्, प्रशंसनीय छ भन्ने मेरो विचार हो ।
गुन्द्रुक बनाउने तौरतरीका पनि नेपालीहरूको आफ्नै परम्परागत र मौलिक छ । त्यसलाई कुनै ठूलो लागत वा प्रविधि आवश्यक परोइन । सौर्य शक्तिको छेलोखेलो उपस्थिति रहेका बेला त्यसलाई सुकाएर राख्ने प्रविधिमा पनि खासै खर्च हुँदैन । खेर गइरहेको समय र फुर्सदिलो बेला हाम्रा गाउँघरतिर यसको राम्रै जोहो गर्न सकिन्छ । रायो तोरीलगायत यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि हाम्रै भूगोलमा उमार्न सकिन्छ । अब रह्यो, यसको व्यवसायीकरणको कुरा । माथिको सानो उदाहरणले एउटा राम्रै सम्भावना देखाएको कुरालाई बेवास्ता गर्न सकिँदैन ।
म आजभन्दा १४ वर्षपहिले अस्ट्रेलिया जाँदा त्यहाँ बस्ने मेरो छोरोले आउँदा गुन्द्रकको सुकुटी पनि लिएर आउनु भन्ने खबर गरेकाले जानुअघि धेरैतिर खोजीगर्दा बल्ल पाटनमा त्यसको एउटा दोकान भेटिएकाले त्यहाँबाट मैले करीब ५ हजार रुपैयाँ जतिको गुन्द्रकको सुकुटीका विभिन्न प्रोडक्ट लिएर गएको थिएँ, कोसेलीका रूपमा । त्यहाँबाट मैले थाहा पाएको थिएँ त्यसको प्रोडक्ट त अस्ट्रेलियालगायत अन्य देशतिर पनि जाँदो रहेछ र त्यसले रामै्रगरी व्यवसाय हुर्कने मौका पाएको पनि रहेछ । त्यो सुकुटी त नपकाईकन सीधै खाए पनि हुनेरहेछ । लागेको थियो, त्यो बेला गर्दा नहुने केही रहेनछ । अहिले हेटौंडामा देखिएको यसैको एक सानो प्रयासको खबर देखेर यसबारे केही लेख्ने विचार आएको हो ।
राजनीतिक अठोट र प्रणालीगत विकासको भरोसा हुने हो भने यसबाट कृषि कर्म गर्नेहरूलाई पक्कै पनि अतिरिक्त भरथेग र साथसहयोग दिन्छ भन्ने सन्देश जान सक्छ । पहाडी क्षेत्रमा हुने अल्लोबाट बनेका विभिन्न कपडा र त्यसबाट बनेका कोट, इस्टकोट, टोपीहरू लगाएर अचेल त्यसलाई स्थानीय सरकारका पदाधिकारीहरूले प्रवर्द्धन गरिरहेको फाट्टफुट्ट उदाहरण त भेटिन्छ पनि । तर, तिनको व्यवसायीकरण हुनसकेको भने छैन ।
गुन्द्रुक त एउटा उदाहरणसम्म मात्र हो । हामीले नेपाली मौलिकता देखाउने अनेकौं प्रोडक्टको विकास गरेर लैजान सकिन्छ भन्ने मेरो विचार हो । राजनीतिक अठोट र प्रणालीगत विकासको भरोसा हुने हो भने यसबाट कृषि कर्म गर्नेहरूलाई पक्कै पनि अतिरिक्त भरथेग र साथसहयोग दिन्छ भन्ने सन्देश जानसक्छ । पहाडी क्षेत्रमा हुने अल्लोबाट बनेका विभिन्न कपडा र त्यसबाट बनेका कोट, इस्टकोट, टोपीहरू लगाएर अचेल त्यसलाई स्थानीय सरकारका पदाधिकारीहरूले प्रवर्द्धन गरिरहेको फाट्टफुट्ट उदाहरण त भेटिन्छ पनि । तर, तिनको व्यवसायीकरण हुनसकेको भने छैन । तेह्रथुमे ढाकाको कपडा र पाल्पाली ढाकाका कपडालाई राम्रोसित टेवा दिएर लैजाने हो भने तिनले इन्डोनेशिया र मलेशियाको बाटिक उद्योगकै जस्तो आकार लिनसक्छ ।
म सन् २००३ मा मंगोलिया जाँदा त्यहाँ एउटा पश्मिना कारखाना हेर्ने अवसर मिलेको थियो । त्यो हेरेर तीनचित खाएको थिएँ । त्यहाँको उत्पादन जति सबै यूरोप अमेरिकामा निर्यात हुँदो रहेछ, निक्कै महँगो डलरमा । एउटा पश्मिना सलको करीब २ सय डलर । यता, हाम्रो देशमा भने कुनै बेला पश्मिना र गलैंचाले लिएको
अन्तरराष्ट्रिय बजारको पकड अहिले पाताल भासिएको देख्दा लाग्छ, हामी माल पाएर पनि कहिले चाल भने पाउँदैन रहेछौं ।
पश्मिनालाई आवश्यक पर्ने च्यांग्रा, भेडाको पालन, उत्पादन हाम्रो भूमिमा मनग्गे गर्न सकिन्छ । नेपालका याक चौंरीबाट उत्पादित छुर्पीको विश्व बजारको माग धान्न नसकिरहेको अहिलेको अवस्थालाई विचार गर्दा न सरकार, न स्थानीय सरकारहरू, यसको व्यवसायीकरण र त्यस पेशामा लाग्नेहरूलाई टेवा पुर्याउने काम गर्न सकिरहेका देखिन्छन् । उल्टै दिनको हजारौं युवाको विदेश पलायनको यात्रा टुलुटुलु हेरेर रमिते मात्र बन्न सकेको देख्दा लाग्छ, हामी आफ्नो श्रीखण्ड नै नचिन्ने रहेछौं । भर्खरै हो, कुनै सांसदले नेपाली कोदोको रक्सीलाई ब्रान्डिङ गरेर लैजानुपर्छ भन्ने आवाज संसद्मा उठाएको र त्यो कुनै सञ्चारमाध्यममा पढेको थिएँ । वास्तवमा यी सांसदको आवाजले मेक्सिकोले बनाएको स्थानीय रक्सी (टकिला) अहिले विश्व बजारमा महँगोमा विक्री भइरहेको दृश्यका अगाडि हामी पनि किन कोदोको रक्सीलाई त्यसरी नै विश्व बजारमा स्तरीय ब्रान्डिङ गरेर लैजान सक्दैनौं ? भन्ने प्रश्नको जवाफ खोजेको छ । खोजी पसे यस्ता धेरै उदाहरण दिन सकिन्छ । हालै मात्र नेपाली चियालाई चीनमा प्रतिकिलो ५ हजार रुपैयाँमा निर्यात गर्ने सम्भावना देखिएको छ । चिनियाँहरू नेपाल आएर चिया चाखेर मन पराई आयात गर्न तयार भएका देखिएका छन् ।
कफीकै कुरा गरौं, त्यो नेपालमा राम्रोसित उत्पादन गर्न सकिने रहेछ, कमसे कम आयातकै प्रतिस्थापन गर्ने उद्देश्य किन नहोस् । नेपालको कफी पनि राम्रो मानिन्छ । त्यसलाई पनि राम्रैसँग निर्यात गर्न सकिन्छ । गुन्द्रुकलाई हाम्रो मौलिकताको पहिचान बनाएर लैजान सकियो भने र त्यो हाम्रो परिकारको विशिष्ट प्रोडक्ट बनाउने काममा माथि उदाहरण प्रस्तुत गर्ने नगरपालिका यसको अगुवा बनेर आउनसक्यो भने गुन्द्रकको अर्थशास्त्रले सफलता पाएको अनुभूति हुनेछ । स्थानीय सरकारको उपस्थितिको अनुभूति पनि । यतापट्टि पनि ध्यान दिने हो कि ?
नेपालले औद्योगिक वस्तुको उत्पादन गरेर निर्यात गर्न सक्दैन । आयात प्रतिस्थापन गर्न पनि प्रतिस्पर्धी क्षमता कमजोर भएकाले कठिन देखिन्छ । यस्तोमा नेपालले आफ्नो मौलिक उत्पादन निर्यातमा जोड दिन आवश्यक छ । नेपाली उत्पादनलाई ब्रान्डिङ र प्रचार गर्ने हो भने उसले आन्तरिक र बाह्य बजारमा समेत प्रतिस्पर्धा गर्न सक्छ । अहिले नेपाली अचार निर्यात निकै आशलाग्दो देखिन्छ । हुन त अचारको निर्यात नेपाली समाज भएकै मुलुकमा भएको देखिन्छ । तर, जेजस्तो भए पनि नेपाली वस्तु निर्यात बढ्नुको अर्थ नेपालको अर्थतन्त्रका लागि लाभदायी नै हुने देखिन्छ ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।