त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । यसले त्रिभुवन विमानस्थलमा रहेको अहिलेको भीडभाड केही कम गर्ने छ । त्यसैले यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन ढिला गर्नु हुँदैन
हालको हेलिकोप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको छ । अहिले सातओटा हेलिकोप्टर पार्किङ गर्न मिल्ने क्षमता रहेको उक्त हेलिप्याडमा एकैपटक चारओटा हेलिकोप्टर अवतरण गर्न सकिन्छ । हाल मुलुकमा १२ हेलिकोप्टर सेवाप्रदायक कम्पनीका ४० हाराहारी हेलिकोप्टर छन् ।
हेलिकोप्टरको प्रयोग हवाई एम्बुलेन्स, हिमाली दृश्यावकलोन, उद्धार आदि कार्यमा हुने गरेको पाइन्छ । यी हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट उडान हुँदै आएका थिए । विमानस्थलमा पार्किङ साँघुरो भएपछि काठमाडौंबाहिर एयर बेस बनाएर हेलिकोप्टर सेवा सञ्चालन भइरहेको थियो । तर, अब नलिञ्चोकमा नै हेलिकोप्टर राख्न सकिने भएपछि हेलिकोप्टर सेवा प्रदायकलाई केही सहज हुने देखिन्छ ।
हेलिकोप्टर सेवालाई त्रिभुवन विमानस्थलबाट पूर्णतया हटाउनु उपयुक्त हुन्छ । यो नयाँ हेलिप्याड पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई इन्धनको डिपो त्यहाँ खोलिनुपर्छ । त्यस्तै हेलिकोप्टर कम्पनी कार्यालयहरू पनि त्यहाँ खोल्नुपर्ने हुन्छ । यी सबै व्यवस्था गर्न नलिञ्चोकको हेलिप्याडको क्षेत्र विस्तार गर्नुपर्ने हुन्छ । त्यसैले सरकारले जति सकिन्छ चाँडो यी काम सकेर हेलिकोप्टरसम्बन्धी सेवा नलिञ्चोकबाटै दिनु उपयुक्त हुन्छ । यहाँबाट सेवा दिन कम्पनीहरूले यात्रुलाई त्यहाँसम्म लैजानुपर्ने हुन्छ । यसले उनीहरूको खर्च बढाउँछ । तर, त्यहाँसम्म जाने बाटो राम्रै भएकाले त्यति धेरै समय लाग्ने भने देखिँदैन ।
सरकारले आन्तरिक उडानका लागि काभ्रेमा विमानस्थल बनाउने तयारी पनि गरेको थियो । त्यो अहिले थन्किएको छ । त्यहाँबाट आन्तरिक उडानचाहिँ व्यावहारिक रूपमा समस्यापूर्ण नै हुने थियो । त्रिभुवन विमानस्थल साँघुरो बन्दै गएको छ । पार्किङदेखि उडान अवतरणसम्म समस्या भइसकेको छ । धावनमार्ग धेरै नहुँदा विमान आकाशमा होल्ड गर्नुपर्ने बाध्यता पटकपटक आइरहने गरेको छ । तत्काल निजगढ विमानस्थल बन्न सक्दैन भने भैरहवा र पोखराको अन्तरराष्ट्रिय विमानस्थलले पनि त्रिभुवन विमानस्थलको चापलाई कम गर्न सक्ने देखिँदैन । त्यहाँबाट उडान गर्न व्यावसायिक रूपमा फाइदाजनक नदेखेपछि कुनै पनि वायुसेवा कम्पनी त्यता जान इच्छुक देखिएका छैनन् ।
त्यसैले सानातिना कामबाट नै त्रिभुवन विमास्थललाई उच्चतम रूपमा परिचालन गर्नुपर्ने बाध्यता छ । यस्तोमा हेलिकोप्टरमात्रै नलिञ्चोक सार्न सकियो भने केही हलुका होला भन्न सकिन्छ । दीर्घकालीन रूपमा भने निजगढ अन्तरराष्ट्रिय विमानस्थलको विकल्प देखिँदैन ।