काठमाडौं। काठमाडौंको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ । व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटल शुक्रवारदेखि सञ्चालनमा आएको हो । पर्यटकीय गन्तव्यको तीव्र विकास, साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भएको विकासमा हिल्टनको सञ्चालनले थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
होटलको निर्माण शैलीमा नेपालको समकालीन डिजाइनका साथै समृद्ध सम्पदालाई उत्कृष्टताका साथ उतारिएको बताइएको छ । उपत्यकाका धेरै ठाउँको अवलोकन गर्न मिल्ने अद्भूत, आरामदायी कक्ष रहेको उल्लेख गरिएको छ ।
हिल्टन एशिया प्यासिफिकका वरिष्ठ उपाध्यक्ष अलेक्जेण्डर ज्यारिचले शताब्दीभन्दा लामो समयदेखि अन्तरराष्ट्रिय हस्पिटालिटी उद्योगमा हिल्टनको वर्चस्व रहँदै आएको बताए । हिल्टन काठमाडौं हरेक दृष्टिले अलौकिक रहेको र हिल्टनको इतिहासमा कम्पनीले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएको उनले बताए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको नजिक रहेको हिल्टन काठमाडौंबाट पर्यटकीय शहर ठमेलमा पनि सहजै पुग्न सकिने र यहाँबाट पैदल दूरीमा विभिन्न क्याफे, पब, गेमिङ हब, मनोरञ्जनात्मक स्थलमा रहेकाले पाहुनाका लागि विशेष रहेको बताइएको छ ।
हिलटन इण्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्री हेड जुबिन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा कम्पनीको रणनीतिक योजनाका साथ हिल्टन काठमाडौं सञ्चालनमा ल्याइएको बताए ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्राण्डसँग जोडिँदै हिल्टन काठमाडौं सञ्चालनमा ल्याउनु सम्मानको विषय भएको बताए । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ । होटलमा एक सय ७२ ओटा कोठा रहेको तथा रूफ टप बार, ब्यांकेट हल, स्पा, अल डे डाइनिङ रेस्टुरेन्ट र स्विमिङ पुल रहेको बताइएको छ ।