तेहरान । हमासले बुधवार नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा निधन भएको छ ।
'हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ,' हमासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ । 'तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उनका एक अङ्गरक्षकको मृत्यु भएको छ,' इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ ।
हानिया गत मङ्गलवार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए । इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रूपमा निर्वाचित भएका थिए ।
व्यावहारिकतावादी मानिने हनिया प्राय: टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेका थिए । हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहरूसँग राम्रो सम्बन्ध राखेको बताइएको छ । इजरायली कब्जाको विरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए। एएफपी/रासस