काठमाडौं । हङकङ सिक्सेस प्रतियोगितामा नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि शुक्रवार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो समूहको शीर्ष स्थानमा रहँदै नेपाल क्वाटरफाइनलमा पुगिसकेको छ ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए । रासस