नवलपरासी (सुस्ता पश्चिम) । हुलाकी राजमार्गको गोपिगञ्ज-बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माणको काम दशैं अघिनै सम्पन्न हुने भएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण शुरू गरी दशैं लगत्तै उक्त क्षेत्रमा कालोपत्र शुरु गर्ने सहमति गरेका हुन् । यसका लागि निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमति भएको हो ।
सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइने बताए । यो सडक निर्माणका लागि दवाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव अनशन बसेका थिए । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन शुरू गरेका थिए । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोडेका छन् ।
चारबुँदे उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर यादवको अनशन तोडाएका हुन ।
त्यसैगरी, सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी-कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ । प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरूले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।