काठमाडौं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
शेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने बताएको छ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले पाँचथरमा ९.९ मेगावाट (मेवा) क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कम्पनीका अनुसार आयोजनाको प्रतिमेवा लागत १९ करोड रुपैयाँ छ ।